रोशी सहकर्मी–चैत्र २६,
२०७६,भकुण्डेबेशी/

स्थानीय तहहरु बीच राहतमा प्रतिस्प्रर्धा भइरहेको समय नमोबुद्ध नगरपालिकाले भने दीर्घरोगी बचाउने अभियान सुरु गरेको छ । नगरभित्र रहेका दीर्घरोगी पहिचान गरी घरघर मै निःशुल्क औषधी पु¥याउन नमोबुद्ध नगरपालिका लागि परेको छ ।

विश्वभर फैलिएको कोरोना भाइरसको त्राससँगै बढेको लकडाउनका कारण दीर्घरोगीले औषधी नपाएको भन्दै गुनासो आउन थालेपछि नमोबुद्ध नगरपालिकाले स्वास्थ्य चौकी र वडा मार्फत घरघर मै औषधी पु¥याउन लागेको हो ।

नमोबुद्ध नगरपालिकाका प्रमुख टंकप्रसाद शर्माले नियमित औषधी सेवन गर्दै आएका दीर्घरोगीको स्वास्थ्य नबिग्रियोस भन्नका लागि निःशुल्क औषधी व्यवस्थापन गर्ने लागिएको बताउनुभयो । उहाँले मधुमेह, रक्तचाप, बाथ, छारेरोग र मुटुरोगका बिरामीलाई औषधी दिने बताउनुभयो ।

लकडाउनका कारण कोही पनि उपचारका लागि जान पाउनुभएको छैन, औषधी सकियो भनेर तारान्तार फोन आउन थालेपछि नगरले दीर्घरोगी खाइरहेको औषधी नाम र डाक्टरको प्रिस्क्रिप्सनका आधारमा औषधी उपलब्ध गराउँछौ, भन्नुभयो । उहाँले वडा र स्वास्थ्यकर्मी मार्फत नाम संकलन सुरु गरेको जानकारी दिनुभयो ।

राहत बाँडेको फोटो तथा भिडियो खिच्न बर्जितः

त्यस्तै नगर प्रमुख तिमल्सिनाले लकडाउनका कारण समस्या परेकाहरुलाई राहत वितरण गरिएका फोटो तथा भिडियोहरु सामाजिक सञ्जाल वा सञ्चार माध्यममार्फत् प्रचार नगर्न मातहतका निकायलाई परिपत्र गरेको बताएका छन् ।

विपन्न घर परिवारलाई राहत दिँदा फोटो तथा भिडियोहरु खिच्ने र सामाजिक सञ्जालमा हाल्ने गर्दा उनिहरुको मान मर्यादामा असर पर्ने उनले बताए । यस अघि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राहत वितरणको सस्तो प्रचार गरेर गरिबीको मजाक उडाइएको निष्कर्ष निकाल्दै त्यस्ता गतिविधि नगर्न निर्देशन दिईसकेको छ ।

सात लाखको विपद्कोष स्थापना, खाद्य बैङ्कमा सहयोग आउने क्रम जारीः

नमोबुद्ध नगरपालिकाले सात लाख रुपियाँ राखेर विपद् कोष स्थापना गरेको छ । नेपाल सरकारले हरेक स्थानीय तहलाई विपद्कोष खडा गर्न पत्रचार गरेको अनुसार नगरले विपद् कोष खडा गरेको हो । नगरप्रमुख टीपी शर्माले विपद् कोषमा रकम तथा खाद्यन्न जम्मा गर्न सुरु गरेको जानकारी दिए । “हामीले विपद्कोष बनाएर काम सुरु गरेका छौँ, लकडाउनको समय हेरेर राहतका प्याकेज ल्याउँछौँ” भने ।

आज सम्म खाद्य बैंकमा बागमति टिपर व्यवसायिक समितिबाट १००० किलो चामल र सामुदायिक वचत तथा ऋण सहकारी संस्थाले ५२५ किलो चामल सहयोग गरेको नगरपालिकाले जनाएको छ ।

सरकारले कोरोना भाईरस (कोभिड–१९) को संक्रमण फैलन नदिनका निमित्त देश लकडाउन गरेको अवस्थामा प्रत्यक्ष असर पर्ने विपन्न परिवारलाई मापदण्ड अनुसार खाद्यान्न उपलब्ध गराउन स्थानीय तहहरुलाई निर्देशन दिएको छ । साहि बमोजिम भोलि (बिहिबार) सम्म वडाबाट विपन्न परिवारको विवरण उपलब्ध हुने र त्यसपछि बास्तविक विपन्न परिवारको पहिचान गरी खान समस्या परेकाहरुलाई राहत वितरण गरीने नगर प्रमुख तिमल्सिनाले बताए ।

उनले नगरमा आएका स्वास्थ्य सामग्री, माक्स सबै स्वास्थ्य संस्था मार्फत वितरण गरिएको जानकारी दिए ।

Facebook Comments