यश कुमार परियार–बैशाख ३,
२०७७,काभ्रे/

नमोबुद्ध नगरपालिकाले सम्पुर्ण वडाका विपन्न परिवारलाई राहत वितरण गर्ने भएको छ । विपद व्यवस्थापन समितिका संयोजक नगर प्रमुख टि.पि. शर्मा तिमल्सिनाका अध्यक्षतामा बसेको बैठकले सबै वडामा तत्काल राहत वितरण गरिने निर्णय भएको हो ।

कोरोना भाईरस अर्थात कोभिड १९ को संक्रमण हुन नदिन देश लकडाउनको गरिएको अवस्थामा विपन्न परिवारलाई खाद्य संकट परेको कुरालाई मध्यनजर गर्दै नगरपालिकाले राहत वितरण गर्ने भएको हो ।

नगरपालिकाको राहत कोषमा जम्मा भएका मौज्दात खाद्य सामग्री पर्याप्त मात्रामा नभएका कारण अपुग सामग्री खरीद गर्ने जनाएको छ । नगरपालिकाले वडाबाट प्राप्त विपन्न परिवार विवरण अनुसार विशेष संरक्षण गर्नुपर्ने वर्ग, असङ्गठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा मजदुरहरुलाई वडाले तोकेको प्राथमिकताका आधारमा कार्यविधि अनुरुप राहत वितरण गरिने नगर प्रमुख शर्माले बताए ।

कुल ११ वडा रहेको नगरपालिकामा वडा नम्बर २, ५ र ७ लाई जनसंख्याका आधारमा राहत प्याकेज संख्या ६० र अन्यलाई ५० राहत प्याकेज उपलब्ध हुने नगर प्रमुख शर्माले जानकारी दिए । उनका अनुसार लकडाउन थपिदै गएको खण्डमा राहत प्याकेज बढाउदै जाने बताए ।

नगरपालिकाले पहिलो चरणमा १ हजार १ सय ८५ घर धुरीलाई राहत बाँड्न लागेको हो । नगरपालिकामा २०६८ को जनगणना का अनुसार २९ हजार ५ सय १९ जनसंख्या रहेको छ ।

Facebook Comments