यश कुमार परियार–बैशाख ४,
२०७७,काभ्रे/

जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं ७ मा रहेको भकुण्डे र नौविसे बजार हप्ताको दुई दिनमात्रै खुल्ने भएको छ । आज वडा अध्यक्ष धर्म लामाले वडामा भएका व्यवसायीहरुसँग छलफल गर्दै यस्तो निर्णय गरेका हुन् ।

बैठकले साताको आईबार र बुधबार बिहान ७ बजे देखि १० बजे सम्म ३ घण्टाका लागि बजार खोल्ने निर्णय गरेको छ । कोरोना भाईरस अर्थात कोभिड १९ बाट नेपालमा पनि संक्रमितहरु बढ्दै गएपछि थप सतर्कता अपनाउनका निमित्त र संक्रमण फैलन नदिनका निमित्त यस्तो निर्णय भएको वडा अध्यक्ष लामाले बताए ।

“बजारमा साँझ बिहान दिनहुँ जस्तै चहलपहल बढ्न थालेपछि संक्रमण फैलने डर भयो” उनले भने “लक डाउनको समयमा पनि बजारमा भिडभाड धेरै र बि.पि. राजमार्गमा पैदल यात्रीहरुको चाप बढीरहेको हुनाले संक्रमण संख्या शुन्य नभएसम्म बजार दुई दिन मात्रै खोलेर अन्य समयमा बन्द गर्ने निर्णय भएको छ ।”

साथै उनका अनुसार बजार खोल्न तोकेको समय भन्दा अघि पछि बजार खोलेको पाईएमा पहिलो चरणमा ५ हजार, दोश्रो चरणमा १० हजार र बारम्बार अटेर गरेमा कानुनी कारवाहि गरीने उनले बताए ।

बजारमा स्वास्थ्य सँग सम्बन्धित क्षेत्रहरु भने २४ घण्टा खोलीने छ ।

Facebook Comments