यश कुमार परियार–बैशाख ७,
२०७७,काभ्रे/

शनिबार राती विभिन्न स्थानबाट बि.पि. राजमार्ग हुँदै रोशी मा आईपुगेका ८१ जना सडकमा अलपत्र परेका मानिसहरुलाई रोशी गाउँपालिका अध्यक्ष डि.बि. लामाको पहलमा उद्धार गरिएको छ । रातको समयमा गाउँपालिकाको सिमा भित्र सडकको छेउछाउमा वालबच्चा, वृद्ध आमा वुवाको साथमा थकाईले होस् बिहिन भएका उनिहरुलाई अध्यक्ष डि.बि. लामा, स्थानिय जनप्रतिनिधि, समाजसेवीहरुको सहयोगमा नेपालथोक सम्म पुर्याइएको हो ।

जसमा सिन्धुली गोलन्जोर गाउँपालिका वडा नं ३ र ४ को ५६ जना, उदयपुरको ८ जना, रामेछाप खाडादेवी गाउँपालिकाका १० जना र बर्दिबासको ७ जना गरि जम्मा ८१ जना नेपालथोक प्रहरी पोस्ट सम्म पुर्याइएको थियो । रोशी गाउँपालिकाको सिमानाबाट अलि पर नेपालथोक सम्म पुगेपछि यात्रुहरुलाई सुनकोसी गाउँपालिकाले सहयोग गरी उनिहरुलाई आ–आफ्नो स्थान सम्म पु्र्याएका छन् ।

रोशी गाउँपालिका अध्यक्ष डि.बि. लामाले अलपत्रमा परेकाहरुलाई उद्दार गर्न पाएकोमा सामाजिक संजाल मार्फत खुसी व्यक्त गरेका छन् ।

रोशी गाउँपालिका अध्यक्ष लामाले रेडियो रोशी सँग कुरा गर्दै “उनिहरुको दुःख टुलुटुलु हेरेर बस्न पटक्कै सकिएन, यस अघि पनि मैले मेरा शुभुचिन्तकहरुको सहयोगमा धेरै मानिसहरुको उद्धार गरिसकेको छु” भने । काठमाण्डौ लगायतका स्थानबाट धेरैको संख्यामा यहाँ आईपुग्ने गरेका छन्, छिमेकि नमोबुद्ध नगरपालिका र सुनकोशी गाउँपालिका सँग समन्वय गरेर हामीले उद्धार गरिरहेका छौ र पैदल यात्रीको उद्दार गर्ने क्रम जारी रहने छ” भने ।

के बाल बच्चा, के गर्भवति, के वृद्ध वद्धा, के अपाङ्गता भएका व्यक्ति ! लामवद्ध भएर बि.पि. राजमार्गमा हिडिरहेका हुन्छन् । रोशी गाउँपालिका अध्यक्ष लामाले उनिहरुको दुख पिडा देख्न नसकेर यस अघि गाउँपालिका भवन अगाडि निर्मित चौतारामा जम्मा भएका कयौँ मानिसको उद्धार गरिसकेका छन् । उनिहरुलाई पानी, बिस्कुट, चाउचाउको व्यवस्था गर्छन् । गाउँपालिकाको गाडि नभएको खण्डमा उनि आफ्नै गाडि लिएर पनि मानिसहरुको उद्धार गर्ने गर्छन् ।

यसो गर्दा एक संचारमाध्यमले पैदल यात्रीको पिडा देख्न नसकेर अध्यक्ष लामाले उनिहरुको उद्धारमा खटिँदा लकडाउनको उल्लंघन भयो भन्दै प्रचार गरेका थिए । जसको अहिले सामाजिक संजालमा चर्को आलोचना भाईरहेको छ ।

सामाजिक संजालमा अचेल प्रसश्त भेटिने टिप्पणी हो “काम उहि, तर हेर्ने दृष्टिकोण फरक! आफ्नो पक्षकाले गरे प्रशंसा, विपक्षीले गरे लकडाउन उल्लंघन ?” ।

Facebook Comments