सिर्जना तामाङ,२०७७,
बैसाख ११,काभ्रे/

विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीबाट आफ्ना गाउँपालिकाका नागरिकहरुलाई बचाउन अहोरात्र खटेका रोशी गाउँपालिकाका जनप्रतिनिधिहरुले आफूले पाउने सेवा सुविधा बापतको एक महिनाको रकम समेत विपद व्यवस्थापन (कोरोना)कोषमा जम्मा गर्ने निर्णय गरेको छ । विहिबार भर्चुअल माध्यमबाट बसेको रोशी गाउँपालिकाको कार्यापालिका बैठकले सो निर्णय गरेको गाउँपालिका अध्यक्ष डि वि लामाले बताउनुभयो ।
रोशी गाउँपालिकालाई माया र सहयोग गर्न विभिन्न व्यक्ति तथा संस्थाहरु नगद तथा सामाग्री लिएर आएकोमा उत्साहित हुँदै आफूहरु खटेर मात्र नपुग्ने भन्दै रोशीका सम्पूर्ण जनप्रतिनिधीहरुको एक महिनाको सेवा सुविधा पनि विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरिएको हो ।
रोशी गाउँपालिकाको सम्पूर्ण जनप्रतिनिधीहरुको एक महिनाको सेवा सुविधा वापतको जम्मा रु ७,५१०००।–सात लाख एकाउन्न हजार रकम यस कोषमा जम्मा गर्ने भएको हो । प्रदेश सरकारले गरेको निर्णय बमोजिम जनप्रतिनिधिले विभिन्न शीर्षकमा सेवा सुविधा पाउने व्यवस्था भएकोमा एक महिनाको सुविधा कोरोना महामारी नियन्त्रण तथा रोकथामको लागि खर्च गर्ने गरि उक्त कोषमा जम्मा गर्ने भएको छ ।
विश्वभरी नै महामारीको रुपमा फैलिएको कोरोना भाइरस नेपालमा भित्रिसकेको अवस्थामा जस्तो सुकै विपत्तिमा मेरा जनतालाई साथ दिन्छु भनेर खाएको शपथलाई स्मरण गर्दै अध्यक्ष लामाले भन्नुभयो “मैले रोशीका जनतालाई बलबुताले भ्याएसम्मको सहयोग गर्दै आएको छु र आफू रहे सम्म रोशीको जनताको सेवामा समर्पित हुने बाचा गर्दछु ” ।
रोशी गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्षहरु १२ जना, कार्यपालिका सदस्यहरु ६ जना र वडा सदस्यहरु ४२ जना रहेको छ । यस गाउँपालिकामा प्रदेशको निर्णय अनुसार गाउँपालिकाको कामलाई सहज होस भनि विभिन्न शीर्षकमा सुविधा उपलब्ध गराउँदै आएको छ र उक्त सुविधा बापतको रकम नै कोषमा जम्मा गर्ने भएको हो । यस अघि केन्द्र सरकारको निर्णय अनुसारको कर्मचारीहरुको तलब कट्टा गरि रु १,८८,१२०।– विपद् कोषमा जम्मा गरिसकेको प्रमुख प्रशासकीय अधिकृत डम्बरु दाहालले जानकारी दिनुभयो । कर्मचारी मात्र नभई जनप्रतिनिधिले आफ्नो सेवा सुविधा विपद् कोषमा जम्मा गरेर उदहारणीय कार्य गरेकोमा उत्साहित हुँदै विपद् व्यवस्थापन कोषमा पर्याप्त मात्रामा रकम नभएकोले पुर्वतयारी तथा रोकथामको लागि यो रकम महत्वपूर्ण योगदान हुने प्रमुख प्रशासकीय अधिकृत दाहालले बताउनु भयो ।

Facebook Comments