यश कुमार परियार–बैशाख १८,
२०७७,काभे/

नेपाली काँग्रेसले काभ्रेको स्थानीय तहहरुमा स्वास्थ्य सामग्री वितरण अभियान अन्तर्गत आज नमोबुद्ध नगरपालिका, रोशी र तेमाल गाउँपालिका लाई पिपिई र मास्क हस्तान्तरण गरेको छ ।

नेपाली कांग्रेसको केन्द्रीय सदस्य एवं केन्द्रीय ट्रेडयुनियन विभाग संयोजक शिव प्रसाद हुमागाई नेतृत्वको टोलिले नमोबुद्ध नगरपालिका प्रमुख टि.पि.शर्मा तिमल्सिना, रोशी गाउँपालिका अध्यक्ष डि.बि. लामा र तेमाल गाउँपालिका अध्यक्ष सलाम सिं तामाङलाई २०० थान मास्क र पालिका भित्रका प्रत्येक स्वास्थ्य चौकिमा एक एक थान पिपिई पुग्ने गरि हस्ताण्तरण गरेको हो ।

स्वास्थ्यकर्मीहरु कोरोनाको उच्च जोखिममा रहेकोले उनिहरुको सुरक्षार्थ काभ्रेको सबै स्वास्थ्य चौकिमा पुग्ने गरि पिपिई र मास्क वितरण गरेको केन्द्रीय सदस्य हुमागाईले बताए । साथै यो सामाग्री पर्याप्त नभए पनि यो संकटको घडीमा काँग्रेस पार्टिको तर्फबाट मायाको चिनोको रुपमा ग्रहण गर्न स्थानीय तहको प्रमुख हरुलाई हुमागाईले आग्रह गरे ।

उक्त सामग्री ग्रहण गर्दै नमोबुद्ध नगरपालिका प्रमुख टि.पि.शर्मा तिमल्सिनाले काभ्रे कांग्रेसले गरेको सहयोग प्रति धन्यवाद दिए । त्यस्तै रोशी गाउँपालिका अध्यक्ष डि.बि.लामाले संकटको घडिमा पार्टिबाट स्वास्थ्य सामग्रीहरु प्राप्त भएकोमा खुसी व्यक्त गरे । यसैगरी तेमाल गाउँपालिका अध्यक्ष सलाम सिं तामाङले विषम परिस्थितिमा पालिकालाई स्वास्थ्य सामग्री सहयोग भएकोमा धन्यवाद दिँदै कोरोना सँग लड्न थप उर्जा मिलेको बताए ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रणमा सहयोग पुर्याउने उद्देश्य अनुसार कांग्रेसले जिल्लाका १३ ओटै स्थानिय तहहरुमा उक्त अभियान थालेको हो ।

वितरणमा पुर्व सांसद तीर्थ लामा, नेपाली काँग्रेस जिल्ला सचिव दिनेश लामा, जिल्ला सदस्य जोगलाल लामा, क्षेत्रीय सभापति रमेश हुमागाई र राम योन्जन, क्षेत्रीय सचिव गुणराज मुक्तान, ट्रेडयुनियन काँग्रेसको जिल्ला उप–अध्यक्ष सन्तोष गौतम लगायत सहभागी थिए ।

यस अघि काभ्रेको पनौती, धुलिखेल, पाँचखाल, मण्डानदेउपुर नगरपालिका, चौरी देउराली र भुम्लु गाउँपालिकालाई स्वास्थ्य सामग्री वितरण गरिसकेको जिल्ला सचिव दिनेश लामाले जानकारी दिए ।

Facebook Comments