रोशी सहकर्मी–बैशाख १९,
२०७७, सिन्धुपाल्चोक/

सिन्धुपाल्चोकको त्रिपुराशुन्दरी गाउँपालिका तीन धुस्कुनले घरघरमा पुगेर भर्नासँगै पाठ्यपुस्तक वितरण गर्ने भएको छ । वडा समितिको बैठकको निर्णय अनुसार अन्तिम परीक्षाको नतिजा अनुसार विद्यालयले नै भर्ना गर्ने र अन्य विद्यालयबाट आउने विद्यार्थीलाई सम्बन्धित विद्यालयको प्रधानाध्यापकको सिफारिसमा भर्ना गरिने वडा कार्यालयले जनाएको हो ।

छुट भएका विद्यार्थीलाई स्वयंसेवक परिचालन गरी भर्ना तथा पुस्तक वितरण घरघरमै पुगेरै गरिने वडाध्यक्ष सुकदेव रिसालले बताए । भर्ना यहि बैशाख २६ गते भित्र गरिसक्ने उनले जानकारी दिए । वडा अध्यक्ष रिसालका अनुसार स्थानीय सरकारको समन्वयमा नयाँ शैक्षिक सत्रको लागि विद्यालयको विद्यार्थी संख्या अनुसार पुस्तक वितरण गर्न विद्यालयका शिक्षक परिचालन गरिने छ ।

सामाजिक दुरी कायम गरी घरघरमा गएर गृहकार्य दिने र परीक्षणको व्यवस्था गर्ने विषयमा पनि छलफल गरिने वडा कार्यालयले जनाएको छ । धुस्कुनमा आठ वटा विद्यालयमा ६ सय जना विद्यार्थी अध्यायनरत छन् ।

Facebook Comments