यश कुमार परियार–बैशाख २३,
२०७७,काभ्रे/

जिल्लाको तेमाल गाउँपालिकालाई बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लि. ले ३५ हजार आर्थिक सहयोग गरेको छ ।

विश्व महामारीको रुपमा फैलिरहेको नोभेल कोरोना भाईरस कोभिड–१९ को सङ्क्रमण रोकथाम तथा नियन्त्रणका निमित्त तेमाल गाउँपालिका अध्यक्ष सलाम सिं तामाङलाई संस्थाका अध्यक्ष प्रदिप थापाले ३५ हजारको चेक हस्ताण्तरण गरेका हुन् । चेक बुझ्दै गाउँपालिका अध्यक्ष सलाम सिं तामाङले यस विषम परिस्थितिमा संस्थाले गरेको सहयोग प्रति धन्यवाद दिए । साथै उनले यस रकमलाई गाउँवासीको हितमा खर्च गरिने पनि जनाए ।

चेक हस्ताण्तरण पछि रेडियो रोशी सँग बोल्दै संस्थाका अध्यक्ष प्रदिप थापाले तेमाल गाउँपालिका सँगै जिल्लाका १० पालिकालाई रकम सहयोग गरिने बताए । ३५ हजार बचतकर्ता रहेको यस सहकारीले सबै सँग १/१ रुपैँया जम्मा गरि सहयोग गरिएको बताए । जिल्लाको महाभारत, खानीखोला र चौँरीदेउराली गाउँपालिकामा संस्थाको कार्यलय नभएका कारण सहयोग गर्न असमर्थ भएको उनको भनाई छ ।

चेक हस्ताण्तरणमा तेमाल गाउँपालिकाका उपाध्यक्ष दुर्गा माया तामाङ, प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण कुँइकेल, संस्थाका कोषाध्यक्ष शान्त कुमार श्रेष्ठ, नमोबुद्ध चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष बिदुर प्रसाद बरतौला, रामशरण श्रेष्ठ, कर्मचारी प्रेम लामा लगायतको उपस्थिति रहेको थियो ।

सहकारीले यस अघि जिल्ला विपद व्यवस्थापन समितिलाई सर्जिकल ग्लोव्स २ हजार थान, ३ सय थान स्यानिटाईजर, मास्क सहयोग गरेको थियो । साथै पत्रकार महासंघ काभ्रेलाई र सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरुलाई स्वास्थ्य सामग्री वितरण गरिसकेको छ ।

Facebook Comments