रोशी सहकर्मी–जेठ ४,
२०७७,ओखलढुंगा/

धुलिखेल अस्पतालबाट ओखलढुंगा आएका चार जनालाई क्वारेन्टाइनमा राखिएको छ । काभ्रेको धुलिखेल अस्पतालमा हिजो कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएपछि सोही अस्पतालमा उपचार गराएर आएका ४ जनालाई क्वारेन्टाइनमा राखिएको हो ।

उनिहरु चारैजना धुलिखेल अस्पतालबाट हिजो दिउँसो एम्बुलेन्समा चढेर ओखलढुंगा आईपुगेका थिए । उनीहरुलाई आज सदरमुकामस्थित ओखलढुंगाको क्याम्पसमा बनेको क्वारेन्टाइनमा पठाइएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिनुभयो ।

जिल्लामा उच्च सतर्कता अपनाईरहेको अवस्थामा धुलिखेल अस्पतालबाट उपचार गराएर केही मानिस जिल्ला फर्केको सूचनाका आधारमा उनिहरुलाई क्वारेन्टाईन पठाईएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनुभयो । उनीहरुको आरडिटी तथा स्वाब परीक्षण पछि नियमानुसार क्वारेन्टाइनमा राखेर घर पठाईने जनाईएको छ ।

क्वारेन्टाइनमा पठाइएकाहरु सिद्धिचरण नगरपालिका पाँचमा बस्दै आएका सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाका एक बिरामी, उनका २ जना आफन्त र एम्बुलेन्स चालक रहेका छन् ।

Facebook Comments