–रेडियो सिन्धु

२०७७–जेठ १३,
सिन्धुपाल्चोक/

सिन्धुपाल्चोकको विभिन्न ठाउँमा अमेरिकन फौजी किराले मकैवाली नष्ट पार्न थालेपछि किसानहरु चिन्तित भएका छन् । चौतारा साँगाचोकगढी नगरपालिका,इन्द्रावती गाउँपालिकाको विभिन्न क्षेत्रमा सयौं रोपनीको मकै वालीमा फौजी किराको प्रकोप देखिएको छ । मकै उत्पादनमा राम्रो क्षेत्र मानिएको भिमटार,डडुवा लगाएतका क्षेत्रमा लगाएको मकै खाएर नष्ट गरेको डडुवाका वलराम अधिकारीले जानकारी दिनुभयो ।

बैशाखको पहिलो हप्तादेखि छरिएका मकै धमाधम गोड्ने समयमा फौजी किराले खान थालेपछि किसानहरु चिन्तित छन् ।कोरोना भाइरसको महामारीले देश लक डाउनको अवस्थामा रहेकोले धेरैजसो मानिस गाउँ फर्किएर वषौंदेखि बाँझो रहेको जग्गामा खेती गर्न थालेको बेला मकैवालीमा किराले नोक्सान गरेपछि खेती गर्ने जाँगर चलाएका किसान चिन्तामा छन् त्यस क्षेत्रमा दिनदिनै किराको प्रकोप बढ्न थालेपछि करिव एक साताअघि चौतारा साँगाचोकगढी नगरपालिका अन्तर्गत कृषि विकास शाखाबाट कृषि प्राविधिकहरुले स्थलगत अनुगमन गरेका थिए ।

फौजी किरा नियन्त्रणका लागि जथाभावी विषादी प्रयोग नगर्न प्राविधिकहरुले सुझाव दिएका छन् । फौजी किराले मुख्यतः मकै मन पराउने र मकै नपाएको अवस्थामा अन्य वाली,घाँस,तरकारीका वोटमा समेत क्षति पु¥याउने प्राविधिक शाखाले जनाएको छ ।किसानहरुले यतिबेला मकैवाली जोगाउन धमाधम एग्रोभेटबाट ल्याएको विषादी प्रयोग गरिरहेका छन् । मकैवालीबाट राम्रो उत्पादन लिने सोच बनाएका किसान फौजी किराको आक्रमणबाट अनिकालले सताउने हो कि भन्ने चिन्तामा रहेको पत्रकार असोक पराजुलीले खवर पठाउनुभएको छ ।

अमेरिकन फौजी किरा (फल आर्मीवर्म) मकैवालीमा लाग्ने पुतली समूह अन्तर्गत पर्ने किरा हो । यो राती चर्न मन पराउँछ । अमेरिकी महादेशको उष्ण तथा उपोष्ण क्षेत्रमा पाईने रैथाने किरा भारत हुँदै नेपाल छिरेको विज्ञहरु बताउँछन् । नेपालमा पहिलो पटक नपलपरासीको गैंडाकोट क्षेत्रमा फौजी किरा फेला परेको थियो ।

Facebook Comments