यश कुमार परियार–जेठ १४,
२०७७,काभ्रे (नौबीसे)/

नमोबुद्ध नगरपालिका वडा नम्बर ४ मा रहेको मेथिनकोट अस्पतालमा वी वर्ल्ड अनलसका र नाङशाल एशोसिएसन नेपालले अति आवश्यक सामग्री सहयोग गरेको छ । आज (बुधबार) नाङशाल एशोसिएसन नेपालका अध्यक्ष दिनेश लामा, कार्यकारी निर्देशक गुणराज मुक्तान, वी वर्ल्ड अनलसका देशीय प्रतिनिधि तिलक भट्टराईले संयुक्त रुपमा मेथिनकोट अस्पताल व्यवस्थापन समितिका अध्यक्ष उद्धव काफ्ले र मेडिकल सुपरिटेन्डेन्ट रामसरण श्रेष्ठलाई हस्ताण्तरण गरिएको हो ।

वी वर्ल्ड अनलसको सहयोगमा नाङशाल एशोसिएसन नेपालले खरीद गरेको उक्त स्वास्थ्य सामग्री करीब ६ लाख बराबरको रहेको नाङशालका अध्यक्ष दिनेश लामाले जानकारी दिए । स्वास्थ्य सामग्रीहरुमा थर्मोमिटर, एन ९५ मास्क, पि.पि.ई., अक्सीजन मास्क, अक्सीजन कन्सन्ट्रेटर, अक्सीजन सिलिण्डर, पेसेन्ट मनिटर, ईन्फ्युजन पम्प, नेवुलाईजेसन मेसिन,डपलर, मेडिकल मास्क, ग्लोब्स लगायतका सामग्रीहरु रहेको अध्यक्ष दिनेश लामाले जानकारी दिए ।
विश्वभर फैलिरहेको नोभेल कोराना भाईरसले पछिल्लो समय नेपालमा पनि उग्र रुप लिरहेको अवस्थामा यसको रोकथाम र नियन्त्रणमा सहयोग पुर्याउने उद्देश्य अनुरुप सामग्री हस्ताण्तरण गरिएको अध्यक्ष लामाले बताए । ग्रामिण भेगको अग्रभागमा रहेर स्वास्थ्य सेवा पुर्याईरहेको यस अस्पतालले आगामि दिनमा अझ सेवा प्रभावकारी र विश्वसनिय होस् भन्ने शुभकामना पनि व्यक्त गरे ।
सामग्री लिँदै अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं वडा नम्बर ४ का अध्यक्ष उद्धव काफ्लेले यस विषम परिस्थितिमा संस्थाले गरेको सहयोग प्रति धन्यवाद दिए । कोरोना भाईरसको महामारी रोकथामका निमित्त यसले निकै सहयोग पुग्ने विश्वास व्यक्त गर्दै आगामि दिनमा संस्थाको उत्तर उत्तर प्रगतिको कामना गरे ।
स्वास्थ्य सामग्री हस्ताण्तरण समारोहमा प्रेस काउनसिलका सदस्य ईश्वरी ओझा, समाजसेवी सन्तोष गौतम, पत्रकार नगेन्द्र अधिकारी, माधव दुलाल लगायतको उपस्थित रहेको थियो ।

Facebook Comments