रोशी सहकर्मी–कार्तिक ०८,
रोटरी क्लब अफ पनौतीले २४ अक्टोबर अर्थात विश्व पोलियो दिवस–२०१९ को अवसरमा विहीबार पनौतीमा एक कार्यक्रमको आयोजना गरेको थियो । विश्वबाटै पोलियो रोग उन्मूलनका लागि मुख्य सहयोग गर्दै आएको रोटरी इन्टरनेशनलको आह्वानमा क्लबले कार्यक्रम गरेको हो । ‘विश्व पोलियो दिवसका साथै तिहार, नेपाल सम्बत–११४० र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेका हौं’, क्लबका अध्यक्ष प्रकाश कुइँकेलले जानकारी दिए ।
सो अवसरमा पनौती मानेश्वरी पार्कबाट निस्केको प्रभातफेरी इन्द्रेश्वर मन्दिर प्राङ्गणमा पुगेर समापन गरिएको थियो । समापन कार्यक्रममा पनौती नगरपालिका वडा नं ७ का अध्यक्ष रामचन्द्र नासननी, वडा सदस्य पुरुषोत्तम कर्माचार्य, पनौती उद्योग वाणिज्य संघका अध्यक्ष भोला थापा, सामुदायिक साकोसका अध्यक्ष प्रकाश बन्जारालगायतका महानुभावहरुले विश्वबाटै पोलियो रोग उन्मूलनका लागि रोटरीले गर्दै आएको सहयोग र अभियानको प्रशंसा गरेका थिए ।
सो अवसरमा नेपालीहरुको चाड तिहार, नेपाल सम्वत र छठ पर्वको उपलक्षमा शुभकामनासमेत आदान प्रदान गरिएको थियो । कार्यक्रममा रोट्र्याक्ट क्लब अफ पनौती, इन्टरएक्ट क्लब अफ सिद्धार्थ वनस्थलीको सहकार्य रहेको थियो ।

Facebook Comments Box