यश कुमार परियार–जेठ २१,
२०७७,भकुण्डे/

जिल्लाको नमोबुद्ध नगरपालिका वडा नम्बर ४ मा नगरस्तरिय दलित सामुदायिक भवन बन्ने भएको छ । आज एक कार्यक्रमका बिच नगर प्रमुख टि.पि. शर्मा तिमल्सिना र वडा अध्यक्ष उद्धव काफ्लेले संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।

शिलान्यास पस्चात बोल्दै नगर प्रमुख टि.पि.शर्मा तिमल्सिनाले नगरस्तरिय दलित सामुदायिक भवन बन्न लागेकोमा खुसी व्यक्त गरे । “पहिले पहिले थोरै बजेट आउने थियो, त्यसले जस्तापाता र डण्डीको भरमा टहरा बनाईन्थ्यो, दिगो हुदैन थियो”, उनले थप्दै– “अब पक्की भवन बन्ने भयो, यसले सकारात्मक विकास होस् भन्ने शुभकामना छ” भने । भवन निर्माण स्थलको अवलोकन गर्दै प्रमुख तिमल्सिनाले भवनको एक पिल्लर बराबर २५ हजार ५ सय ५५ रुपैँया सहयोग गरेका छन् । साथै उनले यस भवनलाई पुर्ण रुप दिन प्रदेश स्तरमा बजेटको निमित्त पहल गर्ने पनि प्रतिवद्धता व्यक्त गरे ।

३ कोठा रहने यस भवन दलित जनजागरण केन्द्रले निर्माण गर्ने छ । भवन निर्माणका निमित्त आर्थिक वर्ष २०७६/०७७ मा १२ लाख बजेट प्राप्त भएको केन्द्रका अध्यक्ष चुडामणी मिजारले जानकारी दिए । उनका अनुसार यस आर्थिक वर्षमा १२ लाख बजेटले जति काम हुन्छ त्यती गर्ने र अर्को आर्थिक वर्षको थप बजेट मार्फत भवनलाई पुर्णता दिने अध्यक्ष मिजारको भनाई छ । सामाजिक विकास अन्तर्गत ५ प्रतिशत बजेट दलित समुदाय लक्षीत कार्यक्रममा खर्च गर्ने संबैधानिक व्यवस्था अनुरुप सामुदायिक भवन बनाउन लागिएको हो । उक्त भवनमा विभिन्न तालिम, गोष्ठि, बैठक साथै दलित समुदायमा आर्थिक आयआर्जन मुलक कार्यक्रमहरु हुने केन्द्रका अध्यक्ष मिजारले जानकारी दिए ।

त्यस्तै नगर दलित समन्वय समितिका संयोजक राजु सुन्दासले यस भवन दलित समुदायको निमित्त मात्र नभई सिंगो समुदायले प्रयोग गर्न सकिने बताए । यस कोरोना भाईरसले निम्त्याएको महामारीको समयमा क्वारेन्टाईन बनाउन पनि सकिने उनको भनाई थियो ।

Facebook Comments