रोशी सहकर्मी–जेठ २६,
२०७७,काभ्रे (मंगलटार)/

रोशी गाउँपालिकाको मंगल जनविजय माध्यमिक बिद्यालयमा रहेको क्वारेन्टाइनलाई नेपाली सेनाबाट सुरक्षा प्रवद्र्धन गर्न गाउँपालिका स्तरीय त्राइसिस मेनेजमेन्ट सेन्टरले जिल्लामा अनुरोध गरेको छ । गाउँपालिका अध्यक्ष डीबी लामाको अध्यक्षतामा हिजो (आईतबार) बसेको बैठकले कोभिडका सङक्रमित बढेको भन्दै सो स्थानबाट क्वारेन्टाइन हटाउन र कुनै पनि व्यक्तीलाई सो स्थानमा नराख्न भन्दै अवरोध सृजना भएकोले उक्त क्वारेन्टाइन स्थलको सुरक्षा नेपाली सेनाले गर्ने गरी भएको निर्णयलाई कार्यान्वयनमा लैजान अनुरोध गरिएको छ ।

त्यस्तै बैठकले क्वारेन्टाइन स्थलको विषयलाई लिई स्थानीय समुदायलाई भड्काउने, सामाजिक सञ्जालवाट उत्तेजित गर्ने गतिविधीहरु पोष्ट गर्ने, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी एम्बुलेन्स चालक र कर्मचारी तथा जनप्रतिनिधिलाई दुव्यवहार गर्ने जस्तो क्रियाकलापहरु भएकोले उपरोक्तानुसारको कार्य गर्ने व्यक्तिहरुको निगरानी गर्ने साथै कार्वाहीको लागि स्थानिय प्रहरी सक्रिय गराउने निर्णय गरेको थियो ।

त्यसैगरी क्वारेन्टाइन व्यवस्थापनका लागि आवश्यक पर्ने भौतिक सुविधा लगायतको अभाव हुन नदिन, जनसमुदायलाई भ्रम श्रृजना नगरी आश्वस्त तुल्याउन विद्यालय व्यवस्थापन समिति र विद्यालयका सम्पूर्ण शिक्षकहरु तुरुन्त परिचालन हुन निर्देश गरेको थियो ।

रोशी गाउँपालिकामा सञ्चालित ३ वटा एम्वुलेन्स रोशी गाउँपालिकाको सी एम सी मातहत रहने गरी परिचालन गर्ने, शंकास्पद विरामीहरु बोके पश्चात डिसइन्फेक्सन गरी मात्र अर्को विरामी वोक्ने व्यवस्था मिलाउने र सो का लागि हिजोबाटै डिसइन्फेक्टेन्ट लिक्विड र पम्प उपलव्ध गराएको जनाइएको छ ।

Facebook Comments