रोशी सहकर्मी–जेठ ३०,
२०७७,काभ्रे/

तेस्रो मुलुकबाट काभ्रेपलाञ्चोक फर्किएका दुर्गम स्थानीय तहका नागरिक राख्न सदरमुकाम धुलिखेलमा क्वारेन्टिन व्यवस्थित गरिने भएको छ । जिल्लास्तरीय सङ्कट व्यवस्थापन केन्द्रले जिल्लाको अति दुर्गम मानिएका तीन स्थानीय तहका नागरिक राख्न धुलिखेल नगरपालिका–७ स्थित धुलिखेल क्याम्पसमा ७५ श्ययाको क्वारेन्टिन व्यवस्थित गर्ने निर्णय गरेको हो । केन्द्रले खानीखोला, महाभारत र चौँरीदेउराली गाउँपालिकाका नागरिकलाई धुलिखेलमा राख्ने व्यवस्था मिलाएको छ ।

हालसम्म तेस्रो मुलकबाट आठ काभ्रेली फकिएका छन् । भौगोलिक विकटता र वर्षातको समय नजिकिँदै गएकाले तेस्रो मुलुकबाट फर्किएका क्वारेन्टिनमा राख्नुपर्ने नागरिकलाई सम्बन्धित स्थानीय तहमा लैजान र स्वाब सङ्कलन गर्न कठिनाइ हुने भएकाले धुलिखेल नगरसँग समन्वय गरी जिल्ला सदरमुकाम धुलिखेलमै क्वारेन्टिन निर्माण गरिने केन्द्र संयोजक एवं प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताए । उनले भने, ‘धुलिखेलमै क्वारेन्टिन निर्माण गरी दुर्गम पालिकाका व्यक्तिलाई राख्दा सहज हुने भएकाले धुलिखेलमै राख्ने निर्णय गरेका छौँ ।’

विदेशबाट फर्केलगत्तै काठमाडौंको वसुन्धरास्थित वाग्मती प्रदशेको ‘होल्डिङ सेन्टर’ बसेकालाई सदरमुकाम धुलिखेल ल्याई राखिनेछ । ‘धुलिखेलस्थित क्वारेन्टिनको समयावधि सकिएपछि स्थानीय तहको जिम्मा लगाइनेछ’, तिमल्सिनाले भने । उनका अनुसार होल्डिङ सेन्टरबाट काभ्रेपलाञ्चोकका नागरिकलाई धुलिखेलसम्म ल्याउने र धुलिखेलबाट स्थानीय तह (दुर्गम जनाइएकाबाहेक) का जनप्रतिनिधिले स्थानीय क्वारेन्टिनमा लगेर राख्ने प्रणाली बनाएको छ ।

यसैबीच पहिलो चरणमा गत शुक्रबार युएईबाट एक महिलासहित तीन काभ्रेली फर्किएका छन् । दोस्रो चरणमा बिहीबर राति कुवतेबाट काभ्रेपलाञ्चोकका पाँच स्थानीय तहका पाँच महिला आइपुगेका छन् । केवेतबाट आएका धुलिखेल नगरपालिका, बनेपा नपा, नमोबुद्ध नपा, तेमाल गाउँपालिका र रोशी गाउँपालिकाका महिलालाई धुलिखेलस्थित क्वारेन्टिनमा राखिएको कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला कमाण्ड पोष्टले जनाएको छ ।

Facebook Comments