रोशी सहकर्मी–जेठ ३०,
२०७७,काभ्रे/

कोरोना परीक्षण गर्दै आएको काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल अस्पतालले चार हजार भन्दा बढीका पीसीआर विधिबाट कोरोना परीक्षण गरेको छ । गत चैत २३ गतेबाट परीक्षण सुरु गरेको अस्पतालले बुधबार सम्ममा चार हजार बढीको परीक्षण गरिसकेको हो ।

धुलिखेल अस्पतालका प्रशासकीय निर्देशक डा. रमेश मकाजूले परीक्षण भएका मध्ये तीन हजार ७१२ को रिपोर्ट नेगेटिभ आएको र २३९ जनामा कोरोना पुष्टि भएको जानकारी दिनुभयो । अस्पतालले चार हजार चार सय ४७ जनाको स्वाव संकलन सहित पीसीआर परीक्षण गरेको थियो । अस्पतालले ४९६ जनाको स्वाव परीक्षण गरिरहेको जनाएको छ ।

स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख डा. नरेन्द्रकुमार झाले जिल्लाका ५५७ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको जानकारी दिनुभयो । परीक्षण गरिएका मध्ये पाँच जनाको रिपोर्ट पोजेटिभ आएको थियो । त्यस्तै जिल्लाका दुई हजार ५६ जनाको आरडीटी परीक्षण गरिएको छ । जसमा ३८ जनाको रिपोर्ट पोजेटिभ आएपछि पीसीआर विधिबाट परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको थियो ।

Facebook Comments