फाईल तस्बिर

रोशी सहकर्मी–जेठ ३२,
२०७७,काभ्रे/

काभ्रेको चौरीदेउराली गाउँपालिकाको एम्बुलेन्सले रक्सी बोकेको पाईएपछि नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाले स्पष्टिकरण मागेको छ । प्रदेश ३ बा २३ च २१४७ नम्बरको एम्बुलेन्सले रक्सी बोकेको पाइए पछि काभ्रे शाखाले नियन्त्रणमा लिएर चालकलाई स्पष्टीकरण सोधेको छ ।

उक्त एम्बुलेन्सले रक्सी मात्र होइन, नक्कली बिरामी बनाएर यात्रु पनि बोक्ने गरेको खुलेको छ । त्यसरी नै यात्रु बोकेको पाएर काभ्रे र भक्तपुरको सिमानामा रहेको प्रहरी चेकपोष्टले दुईपटक नियन्त्रणमा लिएर छोडेको थियो । केही महिनाअघि मात्र क्यानेडियन रेडक्रसको अनुदानमा नेपाल रेडक्रस ग्रामीण आपतकालीन तथा ट्रमा प्रणाली सुदृढीकरण परियोजना अन्तर्गत चौरीदेउराली गाउँपालिकालाई एम्बुलेन्स दिइएको थियो ।

एम्बुलेन्समा रक्सी बोकेको स्थानीयले गुनासो गरेपछि नियन्त्रणमा लिईएको र उक्त एम्बुलेन्सले मदिरा बोकेको स्विकारेको नेपाल रेडक्रस सोसाइटीका अस्पताल पूर्वसेवाप्रमुख भोजराज ओझाले जानकारी दिए । हाल एम्बुलेन्सको ब्रेकफेल भएकाले बनाउन ग्यारेजमा दिइएको पनि उनले जानकारी दिए ।

Facebook Comments