यश कुमार परियार–असार ७,
२०७७,काभ्रे/

जिल्लाको रोशी गाउँपालिका र तेमाल गाउँपालिकामा शान्ति जन आदर्श सेवा केन्द्र नेपाल धुलिखेलले हात धुने स्टेसन स्थापना गरेको छ । आज एक कार्यक्रमका बिच रोशी गाउँपालिकाका अध्यक्ष डि.बि. लामा र तेमाल गाउँपालिकाका अध्यक्ष सलाम सिं तामाङलाई शान्ति जनआदर्श सेवा केन्द्रका अध्यक्ष शंख बुद्ध लामाले हात धुने स्टेसन हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै रोशी गाउँपालिका अध्यक्ष डि.बि. लामाले संस्थाको सहयोग प्रति धन्यवाद दिए । कोरोना भाईरसको संभावित जोखिमबाट बच्न नियमित साबुन पानीले हात धुनु उत्तम उपाय भएको उनको भनाई छ । गाउँपालिकाको प्राङ्गणमा स्थापना गरिएको हात धुने स्टेसनबाट गाउँपालिका आवतजावत गर्ने देखि सर्वसाधरणले लाभ लिन सक्ने बताए ।

सिआरएस संस्थाको आर्थिक सहयोग र शान्ति जनआदर्श सेवा केन्द्रको समन्वयमा उक्त हात धुने स्टेसन स्थापना गरिएको संस्थाका अध्यक्ष शंख बुद्ध लामाले जानकारी दिए । यस हात धुने स्टेसन नेपाल सरकारको मापदण्ड अनुसार निर्माण गरीएको लामाले बताए । उक्त आधुनिक स्टेसनमा खुट्टाको माध्यमबाट ह्याण्डवास साबुन र पानी सजिलै प्रयोग गर्न सकिने र हातको प्रयोग नहुने भएकाले रोग सर्ने जोखिम नहुने पनि उनले जानकारी दिए ।

संस्थाले यस अघि पनौती नगरपालिकाको क्वरेन्टाईन, स्वास्थ्य संस्था र सबै वडामा गरी १८ वटा हात धुने स्टेसन स्थापना गरिसकेको संस्थाका अध्यक्ष लामाले जानकारी दिए । साथै संस्थाले जिल्लामा भुकम्पबाट पिडित भएका र आर्थिक अवस्था कम्जोर भई घर बनाउन नसकेका परिवारलाई रु ५० हजारको दरले आर्थिक सहायता उपलब्ध गराउन लागेको जानकारी दिए । अध्यक्ष लामाका अनुसार भुकम्प प्रभावित परिवारलाई प्रदान गरीएको रकमबाट रेट्रो फिटिङ प्रविधि मार्फत घर मर्मत गर्न प्राथमिकता दिईने छ ।

Facebook Comments