रोशी सहकर्मी– कार्तिक १९,
बनेपा,

काभ्रे चेम्बर अफ कमर्शको आयोजनामा जर्मन र नेपालका वरिष्ठ स्त्रीरोग विशेषज्ञहरुबाट बनेपामा निःशुल्क स्क्रीनिङ तथा स्त्रीरोग शिविर सम्पन्न भएको छ । सुष्मा कोइराला मेमोरियल अस्पताल, साँखुको प्राविधिक सहयोगमा हलिं नेवा गुथी मिसा कवः काभ्रेपलाञ्चोक तथा लायन्स क्लब अफ काठमाडौं टेम्पल चण्डेश्वरीको सह–आयोजनामा सत्यसाई अस्पताल प्रालिमा सोमबार शिविरको आयोजना गरिएको हो । जर्मनका स्त्रीरोग वरिष्ठ विशेषज्ञ डा. सुजेनी ग्रोथ, अर्का डा. सोफी क्रासमारले शिविरमा आएका महिलाहरुको पाठेघरको जाँच तथा अन्य रोगहरुको परीक्षण गर्नुका साथै परामर्श सेवा प्रदान गरेका थिए । यस्तै, सुष्मा कोइराला मेमोरियल अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. सुशिला श्रेष्ठ र वरिष्ठ नर्स सामिन श्रेष्ठ पनि शिविरमा संलग्न रहेका थिए । सो शिविरमा पनौती, बनेपा र धुलिखेलका ७२ जना महिलाहरुले सेवा लिएका थिए ।
जर्मनीका डा. सुजेनीले सन् २०१४ देखि नै वर्षको २ पटक नेपाल आएर यहाँका विभिन्न दुर्गमक्षेत्रहरुमा स्त्रीरोग परीक्षण शिविर सञ्चालन गर्दै आएकी छिन् । शल्यचिकित्सक(सर्जन) रहेका उनका पतिले बिरामीहरुको अपरेसन गर्दै आइरहेका आयोजकले जानकारी दिएका छन् ।

Facebook Comments