रोशी सहकर्मी,
कार्तिक २१,

भुम्लु गाउँपालिकाका युवाहरुले नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गरेर कात्तिक २२ र २३ गते प्रथम मुलखर्क भीमसेनस्थान महोत्सव गर्न लागेको जनाएका छन । धुलिखेलमा पत्रकार सम्मेलन मार्फत उनीहरुले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न र यस क्षेत्रका ओझेलमा परेका पर्यटकीय स्थालको प्रचारप्रसार गर्न महोत्सव गरिएको जनाएका छन् ।
महोत्सव मुलआयोजक समितिका संयोजक अनिलकुमार बुढाथोकीले जिल्ला कै विकट यस भेगको प्रचार प्रसार नहुँदा ऐतिहासिक महत्व बोकेका मठमन्दिर, त्यहाँका जातीय रहनसहन, भेषभुषा लगायत ओझेलमा परेका कुराको प्रचारप्रसार गर्न महोत्सव आयोजना गर्न लागिएको बताए । उनका अनुसार हरिबोधनी एकादशीको अवसरमा धार्मिक तथा सांस्कृतिक महोत्सव गर्न लागिएको हो । भुम्लु गाउँपालिका वडा न १ सापिङ्गमा अवस्थित मुलखर्क भीमसेनस्थान मन्दिरमा महोत्सव गर्न लागिएको बुढाथोकीले जानकारी दिए । उनले यस क्षेत्रबाट सूर्योदय, सूयस्तको सुन्दर दृश्य सहित गणेश, जुगल, गौरीशंकर हिमक्षेत्रको अवलोकन तथा काभे्र र सिन्धुपलाञ्चोक जिल्लाको नजिकैबाट दृश्यवलोकन गर्न सकिने बुढाथोकीले पत्रकार सम्मेलनमा जानकारी दिए ।
उक्त महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारबाट गीत, नृत्य, प्रहसन सहित मौलिक एवं जातीय संस्कृति झल्कने विविध प्रस्तुतिहरु रहने आयोजकले जनाएको छ । स्थानीय युवाहरु नै रकम उठाएर गर्न लागिएको महोत्सवमा स्थानीय स्तरमा उत्पादित कृषि उपजका स्टल रहने आयोजकले जनाएका छन ।
हरिवोधनी एकादशीको दिन भुम्लु गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रमुख प्रशासकीय अधिकृत हरिबल्लभ घिमिरेद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा कात्तिक १८ गते बसेको गाउँ कार्यपालिका बैठकले हरिबोधनी एकादशी (कात्तिक २२ गते ) बिदा दिने निर्णय गरेको उल्लेख छ । सो दिन मुलखर्क भिमसेनस्थानमा मेला लाग्ने भएकाले बिदा दिने निर्णय गरेको गाउँपालिकाले जनाएको छ । १० वडा रहेको उक्त गाउँपालिकाका वडा कार्यालय, बिद्यालय, संघसंस्था बिदा हुने विज्ञप्तीमा उल्लेख छ ।

Facebook Comments Box