रोशी सहकर्मी–श्रावण २,
२०७७,काभ्रे/

काभ्रेपलाञ्चोक जिल्लाका १०८ क्षयरोगीले उपचार लिइरहेका छन । स्वास्थ्य कार्यालय काभ्रेका क्षयकुष्ठ अधिकृत विष्णु जैसी तिमल्सिनाले १०८ जनाले जिल्लाका विभिन्न स्वास्थ्य संस्थाबाट नियमित औषधी खाइरहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार १०८ क्षयरोगी मध्ये तीन जनाका एच.आई.भी पोजेटिभ रहेका छन । बनेपा नगरपालिकामा ४९ जना, धुलिखेल नगरपालिकामा १४ जना, पाँचखाल र नमोबुद्ध नगरपालिकामा सात/सात जना रहेका छन । त्यस्तै मण्डनदेउपुर, पनौती नगरपालिका, बेथानचोक, खानीखोला, रोशी, तेमाल, चौँरीदेउराली, भुम्लु र महाभारत गाउँपालिकामा पनि क्षयरोगका बिरामी रहेका छन । जिल्लामा भेटिएका बिरामी मध्ये ४९ जना खकार परीक्षणबाट, एक्सरेबाट १८ जना र फोक्सो बाहेक अन्यमा क्षयरोग देखिएका ३९ जना रहेका छन । जिल्लामा १५ बर्ष उमेर माथिकालाई क्षयरोग लागेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यालयका बरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले समुदायमा परीक्षणका दायरा बढाउन नसक्दा अझै लुकेर बसेका बिरामीका कारण अन्यलाई रोग सर्ने जोमिख बढेको बताउनुहुन्छ । उहाँका अनुसार नेपालमा ३२ हजार ३४ बिरामीको तथ्याङ्क भएपनि बिरामी भने ४५ हजार माथि रहेको अनुमान गरिएको बताउनुभयो । प्रयाप्त जनशक्ती नहुँदा हामीले समुदायसम्म परीक्षण गर्न सकेका छैनौँ, बरिष्ठ स्वास्थ्य प्रशासक डा. झाले भन्नुभयो, यसको परीक्षण बढाउने हो भने अन्य बिरामी भेटिन्छन । क्षयरोग सरुवा रोग भएकाले एक व्यक्तीले १०/१५ जना सम्मलाई सर्न सक्ने स्वास्थ्यकर्मीको भनाई छ ।

स्वास्थ्य कार्यालयका तेजनारायण शाहले १५ देखी ४४ बर्ष उमेरका समुहमा बढी जोखिम रहेको बताउनुभयो । उहाँका अनुसार बाग्मती प्रदेशमा सबै भन्दा बढी क्षयरोगका बिरामी रहेका छन । उहाँले नेपालमा दैनिक ११५ जनामा क्षयरोग लाग्ने गरेको बताउनुभयो । –गोरखापत्रबाट

Facebook Comments