रोशी सहकर्मी–साउन ५,
२०७७,काभ्रे/

पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको पहलमा काभ्रेको मण्डनदेउपुर नगरपालिकाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्ने भएको छ । पूर्वसञ्चारमन्त्री बास्कोटाको पहलमा नगरपालिकाका सामुदायिक विद्यालयहरुमा ‘आइटी ल्याब’ स्थापना गर्ने काम धमाधम भइरहेको नगरपालिकाले जनाएको छ ।

हालसालै मण्डनदेउपुर नगरपालिकाको भित्रका १३ वटा सामुदायिक विद्यालयमा ‘आइटी ल्याब’ स्थापना गर्ने काम अन्तिम चरणमा पुगेको वडा नम्बर ४ मा रहेको महाकाली माध्यामिक विद्यालयका प्रनाध्यापक एवं मण्डनदेउपुर शिक्षा समितिका अध्यक्ष शिवकुमार पौडेलले जानकारी दिए। उनका अनुसार ‘आइटी ल्याब’ सञ्चालन गर्ने विद्यालयहरुमा डेडीथुम्का माविमा वडा नम्बर ८, वडा नम्बर २ को महाकाली मावि र बालुवा मावि, वडा नम्बर ९ को डेडीथुम्का मावि, वडा नम्बर ५ मा रहेको तपेश्वर मावि, वडा नम्बरको ब्रमाह्यणी मावि रहेका छन् ।

त्यस्तै वडा नम्बर १० को बिन्धबासी मावि र उमा सहशिक्षालय मावि, वडा नम्बर ११ मा रहेको चण्डेनी मावि, वडा नम्बर १२ को बाघदेवी मावि र इन्द्रावती मावि तथा वडा नम्बर ३ को द्वारपालेश्वर मावि रहेका छन् । प्रत्येक विद्यालयमा न्यूनतम २४ वटा कम्प्युटर जडान गरिएको छ । त्यस्तै आफ्नै सर्भर, लाइब्रेरी, सिसि क्यामेरा, प्रिन्टर, फोटो कपी जस्ता सामग्री जडान भएको शिक्षा समितिका अध्यक्ष पौडेलले बताए । उनका अनुसार कति विद्यालयमा विद्यार्थी संख्या हेरेर कम्प्युट राखिएको छ । महाकाली मावि, वडा नम्बर ४ मा ४४ वटा कम्प्युटर जडान गरिएको छ । नगरपालिकाले ‘आइटी ल्याब’ स्थापनाका लागि फर्निचर ब्यवस्थापन गर्न प्रत्येक विद्यालयलाई २/२ लाखका दरले २६ लाख रुपैयाँ उपलब्ध गराएको छ ।

Facebook Comments