रोशी सहकर्मी–साउन ५,
२०७७,काभ्रे/

चीनको खासा क्षेत्रमा रहेको ‘केरुङ च्छो’ ताल भरिएपछि फुट्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यलय सिन्धुपाल्चोकले भोटेकोशी किनाराका वासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।

चिनियाँ अधिकारीहरुबाट न्यालम क्षेत्रमा अत्याधिक वर्षा भइरहेको र यो पोखरी फुट्नसक्ने सम्भावना रहेको खबर प्राप्त भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । पोखरी फुटेमा भोटेकोशी नदीमा आकस्मिक बाढी आएर नदी किनारको बस्तीमा ठूलो क्षति पु¥याउन सक्ने भन्दै स्थानीय प्रशासनले सतर्क रहन अपिल गरेको छ । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार चिनले सो क्षेत्रका आफ्ना नागरिकलाई माथिल्लो भागमा सारेको र हामीले पनि सतर्कता अपनाउनु पर्ने बताए ।

साथै नदी किनारका बस्तीका नागरिकलाई सुरक्षित ठाउँमा सार्न जिल्ला विपद् व्यवस्थापन समितिलाई निर्देशन दिइएको ढकालले बताए । बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाले पनि नदी आसपासका बासिन्दालाई सडकभन्दा माथितिर आएर बस्न आह्वान गरिएको बताए । तातोपानी नाकाबाट ६ घण्टा हिडेर पुगिने उक्त पोखरीमा ठूलो छाल सधैं आउने गरेको र भूकम्पपछि पनि एकपटक यस्तै खतराको सूचना प्राप्त भएको शेर्पाले बताए । उनका अनुसार केरुङ च्छो (दूधपोखरी) फुट्यो भने कल्पना गर्न नसकिने क्षति हुनेछ र सबैभन्दा बढी क्षति बाह्रबिसेमा हुनेछ ।

Facebook Comments Box