रोशी सहकर्मी-कार्तिक २२,
धुलिखेल,

आगामि मंसिर १४ गते हुने उप निर्वाचनको लागि काभ्रेको धुलिखेलमा आज मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
धुलिखेल नगरपालिका वडा नं. २ रविओपीका वडा अध्यक्ष राजन कोईरालाको गत २०७४ भदौ ९ गते निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । आगामि मंसिर १४ गते हुने उपनिर्वाचनको लागि मुख्य निर्वाचन अधिकृतको औपचारिक रुपमा कार्यालय स्थापना भएको मुख्य निर्वाचन अधिकृत पुरुषोत्तम ढकालले बताउनुभयो ।
धुलिखेल नगरपालिका वडा नं. २ का लागि आगामि हुने निर्वाचनमा १ हजार ८ सय ७७ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । साउन १६ गतेसम्ममा १८ बर्ष पुगेका मतदाताहरुको नामावलीमा नाम भएकाहरुले मतदानमा सहभागि हुनेछ ।
जिल्ला निर्वाचन अधिकृत उमेश राईका अनुसार सो निर्वाचनमा महिला ९ सय ४९जना र पुरुष ९ सय २८ जनाले मतदान गर्न पाउनेछन् । जसको लागि सेतीदेवी माविलाई मतदान स्थल तोकिएको छ । सो स्थलमा दूई वटा मतदान केन्द्र रहेको निर्वाचन अधिकृत राईले बताउनुभयो ।
जिल्ला निर्वाचन कार्यालयले निर्वाचन कार्यक्रम सार्जविनक गरिएको छ । जसअनुसार कात्तिक २७ गते उम्मेदारको मनोनयनपत्र दर्ता गर्ने र सूची प्रकाशन गर्ने, २८ गते उम्मेदारको विरोधमा उजुरी दिने, २९ गते मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गर्ने र नामावली प्रकाशन गर्ने, ३० गते नाम फिर्ता लिन चाहने उम्मेदारले नाम फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गर्ने र मंसिर १ गते उम्मेदारलाई निर्वाचन चिन्ह प्रधान गर्ने रहेको छ ।

Facebook Comments Box