रोशी सहकर्मी–साउन ७,
२०७७,सिन्धुपाल्चोक/

जिल्लाको प्रसिद्ध धार्मिक स्थल पाँचपोखरीमा हरेक वर्ष जनैपूर्णिमा मेला हुने भएता पनि यो वर्ष नहुने भएको छ । मेलामा मानिसको भिडभाड हुदाँ कोरोना भाईरसको संक्रमण फैलन सक्ने भन्दै पाँचपोखरी थाङपाल गाउँपालिकाले जनैपूर्णिमा मेला नगर्न आग्रह गरेको हो । यो वर्षको जनैपुर्णिमा साउन १९ गते परेको छ । जनैपूर्णिमाको अवसरमा एक हप्ता सम्म मेला लाग्ने भएपनि गाउँपालिकाको बैठकले यो वर्ष जनैपूर्णिमाको दिन लाग्ने मेला तथा जात्रा नगर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाले जानकारी दिए ।

समुन्द्री सहतबाट करिब ४ हजार ६० मिटर उचाइमा रहेको यो क्षेत्रमा साना ठूलो गरी ५ वटा ताल रहेका छन् । पालिकाले पाँचखोपोरी क्षेत्र बाहेक अन्य ठाउँहरुमा समेत मेला, जात्रा, पर्व जस्तो मानिसहरुको भिडभाड हुने कार्यक्रम नगर्न सबैलाई आग्रह गरेको छ । अहिले सम्म पालिकामा एक जना कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ भने ३३ जना संक्रमित छन् ।

पाँचपोखरीमा जनैपुर्णिमाको मेला भर्न खासगरी तामाङ समुदायको झाँक्री र उनका आफन्तहरु पुग्ने गरेका छन् । पाँचपोखरीको दुईतीन पटकसम्म मेला भरेर आएपछि मात्रै झाँक्रीको रुप धारण गर्न पाउने यो समुदायमा विश्वास छ ।

Facebook Comments Box