रोशी सहकर्मी–साउन १२,
२०७७,काभ्रे/

जिल्लाका विकट खानीखोला र महाभारत गाउँपालिकासँग सम्पर्क बिच्छेद भएको छ । उक्त गाउँपालिका जाने सडकहरु निरन्तर परेको अविरल बर्षाका कारण अबरुद्ध भएपछि सदरमुकामसँग उनीहरुको सडकबाट सम्पर्क बिच्छेद भएको हो । सडक माथिबाट आएको पहिरोका कारण यातायात ठप्प भएका छन ।

लगातार परिरहेको पानीका कारण सडकमा माथिबाट खसेको पहिरोले सडक अबरुद्ध भएपछि यहाँका स्थानीयलाई आवतजावतमा समेत कठिनाई भएको छ ।

खानीखोला गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर खुलालले खोपासी–कामिडाँडा–तालढुङ्गा सडकको स्याउरीथलीमा अविरल वर्षाका कारण पहिरो गएर सडक नै बगाएपछि यातायात ठप्प भएको जानकारी दिनुभयो । पालिकामा जोडिएका अन्य सडक पनि पहिरोका कारण बन्द रहेको गाउँपालिका अध्यक्ष खुलालले जानकारी दिनुभयो ।

त्यस्तै महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्वाले कतैबाट पनि पालिका जाने सडक नरहेको जानकारी दिनुभयो । उहाँका अनुसार कटुञ्जे–सिपाली–बुढाखानी–बनखु’ सडकखण्डको महाभारत–६ घ्याब्रिङमा पहिरो गएपछि यातायात ठप्प भएको जानकारी दिनुभयो ।

सडक अवरुद्ध भएपछि अहिले डाँडापारिबाट जिल्ला सदरमुकाम आवतजावत गर्नका लागि यहाँका स्थानीयलाई सास्ती भएको छ । खाद्यन्न लगायतका सामग्री लैजान र उताबाट बिरामी लगायत ल्याउन कठिनाई भएको छ । डाँडापारिबाट जिल्ला सदरमुकाम हिडेर आउन स्थानीयलाई दुई दिन लाग्छ ।

Facebook Comments