यश कुमार परियार–साउन १७,
२०७७,काभ्रे/

सहज बाटोको अभावले कयौँ वर्षदेखि ओझेलमा पर्दै आएको तेमाल गाउँपालिका वडा नम्वर ७ कल्धारमा रहेका गुप्तेश्वर महादेवको दर्शन अब सबैले गर्न पाउने भएका छन् । नेपाली सेनाले गत साल फागुन १५ देखि बनाउन सुरु गरेको पदमार्ग सम्पन्न भए सँगै गुप्तेश्वर महादेव मन्दिरको दर्शन र सँगै रहेको प्राकृतिक झरना पनि अवलोकन गर्न पाईने भएको हो ।

नेपाली सेनाको सामाजिक, आर्थिक, पूर्वाधार विकास (क्युआईपी) कार्यक्रम अन्र्तगत विष्णु दल गण धुलिखेल मार्फत मन्दिर जाने ३ कि.मी. पदमार्ग निर्माण गरिएको हो । काभ्रे जिल्लाको सदरमुकाम धुलिखेलबाट रोशी गाउँपालिका हुँदै मंगलटार देखि माथि १.५ कि.मि. माथि लाग्दा कलधार पुगिन्छ । त्याहाँबाट ३ कि.मि. हिडे पछि गुप्तेश्वर महादेव पुग्न सकिन्छ ।

शुक्रबार एक कार्यक्रमका बिच नेपाली सेनाको मध्यपुर्वी पृतनाका पृतनापति उपरथी सुरेशकुमार कार्कीले तेमाल गाउँपालिकाका अध्यक्ष सलाम सिं तामाङलाई निर्माण गरिएका पूर्वाधारहरु पालिकाको जिम्मा लगाईएको थियो । हस्ताण्तरण पछि कार्की र तामाङले उक्त क्षेत्र जाने सूचना पार्टी र शिलालेखको अनावरण गरेका थिए । रु १७ लाख ६४ हजार ८ सय रुपैयामा निर्माण सम्पन्न भएको पूर्वाधारमा ढुंगा विछ्याउने, सिंढी निर्माण, रेलिङ्ग सहित सोलार बत्ति जडान गरिएको छ ।

स्वागत मन्तव्य राख्दै तेमाल गाउँपालिकाका प्रवक्ता एवं वडा नं ७ का अध्यक्ष ज्ञान बहादुर तामाङले पदमार्ग बनाउन सहयोग गर्ने नेपाली सेनालाई धन्यवाद दिए । ‘नेपाली सेनाले देशको सुरक्षा मात्र गर्छ भन्ने आम मानिसको बुझाई थियो, तर यति मात्रै नभई विकास निर्माणका काममा पनि सेनाले उत्कृष्ट काम गर्न सक्छन् भन्ने प्रमाणित भएको छ’ तामाङले भने । तामाङले आगामि दिनमा पनि यस्तै सहयोगको अपेक्षा गर्दै यस क्षेत्र पर्यटकहरुको आकर्षणको केन्द्र बन्नेमा आफु विश्वस्त रहेको बताए ।

पर्यकिय सम्भावना बोकेको गुप्तेश्वर महादेव मन्दिर क्षेत्र सम्म बाटो पुर्याउन सफल भएको र आगामी दिनमा थप पर्यटक आकर्षण गर्न सफल हुने मध्यपूर्वी पृतनाका पृतनापति उपरथी सुरेश कुमार कार्कीले बताए । यस्तै तेमाल गाउँपालिकाका अध्यक्ष सलाम सिँ तामाङले सेनाले गरेको कामको प्रशंसा गरे । तेमाल गाउँपालिकालाई धार्मिक एवं पर्यटकिय क्षेत्र बनाउन आफु लागि परेको बताउँदै मन्दिरको थप पुर्वाधार पालिकाबाट तत्काल बजेट बिनियोजन गरी निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे । तेमाल गाउँपालिकामा यस्ता थुप्रै ठाउँहरु अझै ओझेलमा परेको स्मरण गर्दै गुप्तेश्वर महादेवले सबैको कल्याण गर्नेमा आफु विश्वस्त रहेको बताए ।

कार्यक्रममा श्री २६ नम्बर बाहिनीका बाहिनीपति विष्णु राउत, विष्णुदल गणका गणपती सुबास खड्का, तेमाल गाउँपालिकाका उपाध्यक्ष दुर्गामाया तामाङ, प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण कुँईकेल, ईन्जिनियर हेम तामाङ, विभिन्न वडाका अध्यक्षहरु, गान्बा ताम्बा लगायतको उपस्थिती रहेको थियो ।

Facebook Comments