रोशी सहकर्मी–साउन २८,
२०७७,काभ्रे/

अन्तराष्ट्रिय युवा दिवसको अवसरमा काभ्रको नमोबुद्ध नगरपालिकाले वृक्षारोपण र पार्क सरसफाई आयोजना गर्दै मनाएको छ । आज नमोबुद्ध नगरपालिका वडा नं ४ पौडेलचौर स्थित स्मृति पार्कमा वृक्षारोपण गरी युवा दिवस मनाएको हो । नगर युवा परिषदले आयोजना गरेको कार्यक्रममा नगरप्रमुख टिपी शर्मा तिमल्सिना, प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाईं, नगर युवा परिषदका कार्यकारी उपाध्यक्ष अशोक खनाल, शिक्षा शाखा प्रमुख जनार्दन रिजाल लगायतले वृक्षारोपण गरेका थिए ।

कोभिड १९ को प्रकोपलाई मध्येनजर गर्दै स्वास्थ्य सचेतता सहित सरोकार समाज नेपाल, ग्रामीण विकास संस्था, नमोबुद्ध विकास मञ्च र नगर युवा सञ्जालको सहकार्यमा भएको कार्यक्रममा बोधिचित्त, धुपी लगायतका बिरुवा रोपिएको थियो ।

युवाका सवाललार्ई सम्बोधन गर्ने हेतुले संयुक्त राष्ट्रसङ्घले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेसँगै सन् २००० देखि नियमित रूपमा विश्वभर विविध कार्यक्रम हुँदै आएका छन् ।

वि.सं. २०६८ को राष्ट्रिय जनगणना अनुसार नेपालको जनसङ्ख्याको १६ देखि ४० वर्ष उमेर समूहलाई युवा मान्दा कूल ४०.३५ प्रतिशत अर्थात् एक करोड सात लाख युवा छन् ।

Facebook Comments Box