यश कुमार परियार–भदौ ५,
२०७७,काभ्रे/

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदैछ । आजको दिन व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास छ । शिव–पार्वतीको पूजा गरेपछि नाचगान गर्ने चलन पनि छ । यसवर्ष कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण तीजमा सामूहिक भेला हुन रोक लगाइएको छ । साथै पर्वका अवसरमा पशुपतिलगायतका मन्दिरहरु बन्द गरिएका छन् ।

यसैबिच काभ्रे जिल्लाका विभिन्न शिवालयहरुमा ब्रतालुहरु पुजा अर्चनाको निमित्त उपस्थित भएका छन् । विभिन पालिकाले चाडपर्व घरमानै मनाउन सुचना जारी गरेको भएपनि महिलाहरु मन्दिरमा पुगेका हुन् । नमोबुद्ध नगरपालिकाको नौविसेमा रहेको जगवैजेश्वर मन्दिरमा बिहानै देखि श्रद्धालुहरु देखिएका थिए । कोरोनाको जोखिमलाई मध्यनजर गरी मन्दिर भने बन्द थियो । उपस्थित महिलाहरु भिडभाड नगरी बाहिरबाट नै पुजा गरेर फर्किएका थिए ।

सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकाले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ । बिहिबार दर खाएपछि औपचारिक रुपमा शुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धती सहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।

Facebook Comments Box