रोशी सहकर्मी–भदौ ६,
२०७७,काभ्रे/

काभ्रे जिल्लाको धुलिखेलमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला स्थापना गरिएको छ । बागमती प्रदेश सरकारले धुलिखेल नगरपालिकामा स्थापना गरेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाले दैनीक एक हजार स्वाव परिक्षण गर्ने सामाजिक विकास मन्त्री युवराज दुलालले जानकारी दिए । उनका अनुसार बागमती प्रदेशका १३ जिल्लाका नागरिकहरुका लागि २४ सै घण्टा सेवा उपलब्ध गराउने गरी प्रादेशिक जनस्वास्थ्य ल्याब स्थापना गरिएको हो ।

पहिलो चरणमा काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली र भक्तपुर जिल्लाका नागरिकहरुको कोरोना सम्वन्धी परिक्षण गर्नेछन् भने भक्तपुर र सिन्धुलीमा कोरोना परिक्षणका लागि प्रदेश सरकारले अर्काे प्रयोगशाला स्थापना गरे पछि तीन जिल्लाको मात्रै परिक्षण हुनेछ ।

धुलिखेल नगरपालिकाले प्रयोगशाला ब्यवस्थापनका लागि चार वर्षका लागि भवन उपलब्ध गराएको छ । धुलिखेल अस्पतालमा यस अघि परिक्षण हुँदै आएको प्रयोगशाला, स्वचालित थप अर्काे प्रयोगशला र प्रादेशिक प्रयोगशालाबाट द्रुत गतिमा परिक्षण हुँदा नागरिकहरुले स्वाव संकलन गरेको भोलिपल्टै जानकारी पाउनेछन् ।

कार्यक्रममा प्रदेश सांसदहरु रत्न ढकाल, चन्द्र लामा र लक्ष्मण लम्साल, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना, प्रयोगशालाका निर्देशक नारायण कार्की, धुलिखेल नगरपालिका उपप्रमुख बिमला शर्मा, स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झा, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु, धुलिखेल नगरपालिका स्वास्थ्य शाखाका कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

Facebook Comments