रोशी सहकर्मी–भदौ १४,
२०७७,काभ्रे (भकुण्डे)/

नमोबुद्ध नगरपालिकाले नगरभित्र रहेका अपाङ्गता भएका व्यक्ति र स्वास्थ्य स्वयंसेविकाको कोरोना बिमा गर्ने भएको छ । नमोबुद्ध नगर कार्यपालिकाको आज आइतबार बसेको बैठकले नगरपालिकाबाट विभिन्न समयमा अपाङ्गता परिचयपत्र वितरण गरेका व्यक्तिहरुमध्ये रातो र निलो परिचयपत्र प्राप्त गरेका अपाङ्गता भएका व्यक्तिको कोरोना बिमा गर्ने निर्णय गरेको नगरप्रमुख टिपी शर्मा तिमल्सिनाले बताउनुभयो ।

पछिल्लो समय बढ्दो कोरोना महामारीका कारण अपाङ्गता भएका व्यक्तिहरु पनि बढी प्रभावित हुने देखिएकाले नगरपालिकाबाट तत्कालै उहाँहरुको कोरोना बिमा गर्ने निर्णय गरिएको तिमल्सिनाले बताउनुभयो । ‘विपन्न र असहाय वर्गको हितका लागि नमोबुद्ध नगरपालिका सबैं प्रयत्नशील रहेको छ’ नगर प्रमुख तिमल्सिनाले भन्नुभयो, ‘आगामी दिनमा पनि उहाँहरुको हितका लागि आवश्यक कार्यक्रम अघि बढाउन थप योजनाहरु निर्माण गरिनेछ ।’

नमोबुद्ध नगरपालिकामा रातो अपाङ्गता परिचयपत्र पाउने ९० जना रहेका छन् भने निलो परिचयपत्र पाउने व्यक्ति १ सय ४५ जना रहेका छन् । यसैगरी नगरपालिकामा कार्यरत स्वास्थ्य स्वयंसेविकाको पनि कोरोना बिमा गर्ने निर्णय कार्यपालिका बैठकले गरेको छ । हाल नमोबुद्ध नगरपालिकामा ८१ जना महिला स्वास्थ्य स्वयंसेविका रहेका छन् ।

Facebook Comments Box