रोशी सहकर्मी–भदौ १८,
२०७७,रामेछाप/

रामेछाप जिल्ल्लामा जारी निषेधाज्ञा एक साता थप गरिएको छ । जिल्ला स्तरीय संकट व्यवस्थापन केन्द्र रामेछापले कोरोना संक्रमणको जोखिम झन बढेको भन्दै एक साता निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शार्माको अध्यक्षतामा बिहीबार बसेको बैठकले भदौ १८ गते राती १२ बजेसम्म जारी निषेधाज्ञालाई थप गरि भदौ २५ गते सम्म जारी राख्ने निर्णय गरेको हो ।

बैठकले प्रदेश कोरोना संक्रमण रोकथाम तथा उपचार कोष वा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बजेट उपलब्ध गराउने सरकारको निर्णय अनुसार स्थानीय तहहरुले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको समन्वयमा आइसोलेशन कक्षको व्यवस्थापन र संचालन गर्ने निर्णय गरेको छ । बैठकले बजार क्षेत्रहरुमा संचालनमा रहेका खाद्यान्न ,पसल , रेष्टुरेन्ट ,होटल आदि उद्योग व्यवसायका व्यवसायी र कर्मचारीहरुको आफ्नै खर्चमा अनिवार्य रुपमा पीसीआर परीक्षण गरि व्यवसाय संचालन गर्ने निर्णय पनि गरेको छ ।

बैठकले क्यान्सरका किमो लिने बिरामी, डाइलासिस गर्ने बिरामी अन्य दीर्घ रोगी बाहेक उपचार सम्भव भएसम्म जिल्ला भित्रकै अस्पताल, स्वास्थ्य संस्थामा उपचार गराउने व्यवस्था मिलाउने बैठकले निर्णय गरेको छ । जसका लागि स्थानीय पालिकाको वडा तहबाट आवश्यक सहजिकरण गर्ने, नियमीत उपचार गराउन काठमाण्डौ जाने र आउने विरामीमा कोभिड–१९ संक्रमण पुष्टि देखिन थालेकोले एम्बुलेन्स चालकहरुले इमरेजन्सी विरामी मात्र लाने ल्याउने व्यवस्था गर्ने र एम्बुलेन्समा यात्रा गर्ने विरामीको विवरण, सम्पर्क नं दैनिक रुपमा तयार गरी आवश्यक परेको अवस्थामा जनस्वास्थ्य कार्यालयमा पठाउने पनि निर्णय भएको छ ।

Facebook Comments