रोशी सहकर्मी–भदौ २०,
२०७७,काभ्रे/

काभ्रेपलाञ्चोक जिल्लाको पाँचखालमा विशेष आर्थिक क्षेत्र (सेज) निर्माणको काम अघि बढेको छ । विशेष आर्थिक क्षेत्र प्राधिकरणले २०६८ साल मै सरकारी जमिन (वनक्षेत्र) प्राप्त गरेको भएपनि काम भने सुरु हुन सकेको थिएन । अहिले धमाधम प्रशासनिक भवन निर्माण भइरहेको छ भने खानेपानीका लागि डिपबोरिङ लगायतका काम पनि यस आर्थिक बर्षमा हुने भएको छ ।

पाँचखाल सेजका इन्जिनियर अर्जुन पाण्डेले प्रशासनिक भवन निर्माणको काम भइरहेको बताउनुभयो । सेजका लागि ५० हेक्टर (एक हजार रोपनी) वनक्षेत्र किनिएको भए पनि हाललाई एक हेक्टर क्षेत्रफलको रुख कटान गरी प्रशासनिक भवन लगायत निर्माणको काम भइरहेको पाण्डेको भनाई छ ।

प्राधिकरणले पाँचखाल सेजको निर्माणका लागि करिब चार अर्ब रुपियाँको अनुमानित लागत तयार गरेको छ । पाँचखालको देवीस्थान पाँडुल्ला सुवर्णेश्वरी सामुदायिक वनको छ सय रोपनी र शिखरपुरको चार सय गरी एक हजार रोपनी जग्गा सेज निर्माणका लागि वन मन्त्रालयले २० करोड रुपियाँमा सो वनक्षेत्र उद्योग मन्त्रालयलाई प्रदान गरेको थियो ।

पाँचखाल नगरपालिकाका नगरप्रमुख महेश खरेल अब सेज बन्छ की भन्ने आशा पलाएको बताउनुभयो । निर्माणधिन स्थलको स्थलगत अनुगमनमा पुग्नुभएका नगरप्रमुख खरेलले स्थानीयस्तरमा आउने समस्या समाधान गर्न आफूले सहयोग गर्ने बताउनुभयो । उहाँले पाँचखालमा बन्न लागेको सेज काभ्रेपलाञ्चोक जिल्ला कै लागि महत्वपूर्ण भएकाले उद्योगीहरुको साथ आवश्यक भएको बताउनुभयो ।

करिब चार अर्ब लाग्ने गुरुयोजना तयार भएको भएपनि अहिले सम्म करिब सात करोड मात्र खर्च भएको प्राधिकरणको भनाई छ । आर्थिक बर्ष २०७७/०७८ का लागि छ करोड २५ लाख रुपियाँ विनियोजन भएको छ । पाँचखालमा उद्योग स्थापना गरी चीनतर्फ सामग्रीहरू निर्यात गर्न नजिक हुने भएकाले पाँचखालमा चिनियाँ लगानीकर्ताको आकर्षण छ । यसैलाई मध्ये नजर गरेर चीन सरकारले अरनिको राजमार्ग फराकिलो बनाउने देखि तातोपानी नाका निरन्तर सूचारु गर्न प्राथमिकता दिएको छ ।

तर सोचे अनुसार काम नहुँदा भने स्थानीय चिन्तित बनेका छन । अर्बौको लगानी गर्नुपर्ने सेजमा सरकारबाट बार्षिक ५/१० करोड मात्र भएको छ, स्थानीय एवं पाँचखाल उद्योग बाणिज्य संघका अध्यक्ष राजन कार्कीले भन्नुभयो, यस्तै पारामा काम हुने हो भने त बर्षौ सम्म पनि निर्माण सकिने छाट देखिदैँन ।

इन्जिनियर पाण्डेले सेजलाई छिटो सञ्चालनमा ल्याउने बारे प्राधिकरणले बृहत अध्ययन गरिरहेको बताउनुहुन्छ । पम्परागत रुपमा चल्दै आएको कुरालाई तोडेर लगानीकर्ताहरुको पनि खोजी गर्ने र त्यहाँको गुरुयोजना अनुसार काम पनि गर्ने गरी प्राधिकरणले अध्ययन गरिरहेको छ । बार्षिक १०/२० करोड भन्दा पनि कसरी संरचना बनाएर लगानीकर्ता आकर्षित गर्ने भन्ने मै हाम्रो ध्यान केन्द्रित गरेका छौँ ।

निर्यातमूलक उद्योगलाई एउटै स्थानमा स्थापना गरेर निर्यातलाई प्रोत्साहन दिन सरकारले पाँचखाललाई विशेष आर्थिक क्षेत्र (सेज)का रुपमा घोषणा गरेको थियो । पाँचखाल सेजमा ५२ वटा निर्यातमूलक उद्योग स्थापना गर्न सकिने सम्भाव्यता रहेको गुरुयोजनामा उल्लेख छ । पाँचखाललाई भैरहवा सेजपछिको प्राथमिकतामा राखिएको छ । पाँचखालसँगै मुलुकभर १४ स्थानमा यस्ता सेज स्थापनाको अवधारणा ल्याइएको थियो । गोरखापत्रबाट

Facebook Comments