फोटो क्याप्सनः रोशीको कालढुङ्गामा बन्न लागेको औद्योगिक ग्रामको निर्माणस्थल ।

रोशी सहकर्मी–भदौ २१,
२०७७,कटुन्जेबेशी/

रोशी गाउँपालिका वडा न ११ कालढुङ्गामा औद्योगिक ग्रामको निर्माण प्रक्रिया सुरु भएको छ । आर्थिक बर्ष २०७६/७७ मै नेपाल सरकारले औद्योगिक ग्राम निर्माणका लागि बजेट विनियोजन गरेको थियो ।

साना साना उद्योगलाई प्रवर्धन गर्ने लक्ष्य सहित नेपाल सरकारले सुरु गरेको औद्योगिक ग्राम काभ्रेका तीन स्थानीय तह छनौट भएका थिए । पाँचखाल, धुलिखेल र रोशी छनौट भएको थियो । पाँचखालले निर्माण नै सुरु गरेको भएपनि धुलिखेल र रोशीले भने निर्माण प्रक्रिया सुरु गरेका छन ।

रोशी गाउँपालिकाका अध्यक्ष डीबी लामाले औद्योगिक ग्राम निर्माण प्रक्रिया सुरु भएको बताउनुभयो । उहाँले कालढुङ्गामा करिब ७० रोपनी क्षेत्रफलको डीपीआर तयार भएको बताउनुभयो । अध्यक्ष लामाले स्थानीयको मागको आधारमा उद्योगहरु स्थापना गरिने बताउनुभयो । हामी संरचना निर्माणको प्रक्रियामा छौँ, त्यसपछि जुन जुन कुराको माग स्थानीय स्तरबाट आउँछ त्यही अनुसार उद्योग खोल्ने छौँ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरु दाहालले डीपीआरसँगै ग्राम निर्माणका लागि आवश्यक संरचना बनाउन टेन्डर भएको बताउनुभयो । उहाँका अनुसार एक करोड २६ लाख रुपियाँको टेन्डर भएको छ । सङघीय सरकारबाट ९२ लाख र गाउँपालिकाबाट ३४ लाख थप गरेर टेन्डर आह्वान भएको छ । उक्त क्षेत्रमा करिब २० घर रहेकाले उनीहरुलाई हट्न एक महिने सूचना गाउँपालिकाले जारी गरिसकेको छ ।

यी उद्योग सञ्चालन हुन सक्ने
औद्योगिक ग्राममा सामान्यतया स्थानीय स्तरमा उपलब्ध हुने कर्चा पदार्थ, अर्धप्रशोधित कच्चा पर्दाथ वा खेर गएको बस्तु प्रयोग गरी वा प्रशोधन गरी उत्पादन गर्ने उत्पादन मुलक उद्योग खोल्न पाउने उल्लेख छ । कृषि तथा वन पैदावारमा आधारित उद्योगमा डेरी, मह प्रशोधन, चिया, कफी प्रशोधन, जडीबुटी प्रशोधन, काठ तथा बेतबाँस जन्य फर्निचर उद्योग, प्राकृतिक रेशा उत्पादन वा प्राकृतिक रेशामा आधारित उद्योग खोल्न पाइने छ ।
त्यस्तै स्थानीय स्तरको मागमा आधारित साना तथा घरेलु उद्योग, खानी तथा खनिजमा आधारित उद्योग जस्तैः धातु वा खनिज प्रशोधन गर्ने उद्योग, उर्जामुलक उद्योग जस्तै सौर्य उर्जा, नवीकरणीय उर्जा उत्पादन गर्न मेसिन उपकरण निर्माणसँगै सम्बन्धित उद्योग, बाग्योग्यास प्लान्ट स्थापना गर्न सकिने छ । सेवामुलक उद्योग जस्तै छापाखाना, यान्त्रिक कार्यशाला, पानी प्रशोधन, प्राविधिक प्रशिक्षण, सीप विकास सफ्टवेय विकास, प्रतिस्पर्धात्मक क्षमता भएका अन्य उद्योग र यी बाहेक स्थानीय तहले उपयुक्त ठानेका अन्य उद्योग स्थापना गर्न सकिने उल्लेख छ ।

बजेटको समस्या:

औद्योगक ग्राम खोल्न नेपाल सरकारले छनौट गरेर स्थानीय तहलाई काम गर्न आग्रह गरेको भएपनि प्रयाप्त बजेट नहुँदा काम छिटो हुनेमा भने आशंका पैदा भएको छ । नेपाल सरकारको ७० प्रतिशत र स्थानीय तहको ३० प्रतिशत लगानीमा तयार हुने उक्त औद्योगिक ग्राम निर्माणका लागि करोडौ लाग्ने रोशी गाउँपालिकाले तयार पारेको गुरुयोजनामा उल्लेख छ । तर बजेट भने लाखमा आउँदा काम छिटै सकिन्छ र उद्योग सञ्चालनमा आउँला भन्नेमा स्थानीय नै ढुक्क छैनन । अघिल्लो आर्थिक बर्ष मै काम गर्ने गरी केन्द्रीय सरकारबाट ९२ लाख आएको भएपनि यस आर्थिक बर्षलाई थप रकम आएको छैनन ।

Facebook Comments Box