
रोशी सहकर्मी–भदौ २९,
२०७७,काभ्रे/
काठमाडौ विश्वविद्यालयको केन्द्रीय कार्यालय परिसर धुलिखेलमा दक्षिण कोरियाली सरकारको सहयोगमा सञ्चालित एकिकृत ग्रामीण विकास परियोजना अन्तरगत नेपाल टेक्नोलोजी इनोभेशन सेन्टर (एन.टी.आई.सी) भवन निमार्ण सुरु भएको छ ।
परियोजनाका लागि १० मिलियन डलर मध्ये भवनका लागि चार मिलियन डलर खर्च गरिने काठमाडौं विश्वबिद्यालयका प्राध्यापक डा. हेमराज काफ्ले जानकारी दिनुभयो ।
शिल्यान्यास कार्यक्रममा काठमाडौं विश्वबिद्यालयलका उपकुलपति डा. रामकण्ठ माकाजूले कृषि, ग्रामीण विकास, वैकल्पिक र नवीकरणीय उर्जा तथा स्वास्थ्य क्षेत्रमा विश्वस्तरीय अनुसन्धान गर्न भवन उपयोगमा आउने बताउनुभयो ।
गतिशिलता प्राप्त गर्न विश्वविद्यालयले शुरु गरेको अनुसन्धानको क्षेत्रले सहयोग पुग्ने उपकुलपति डाक्टर माकाजूको भनाइ थियो ।
कार्यक्रममा नेपाल नगरपालिका संघका अध्यक्ष एवम् धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार ब्याञ्जू, काठमाडौं विश्वविद्यालयका संस्थापन उपकुलपति डा. सुरेशराज शर्मालेले नेपालमा पठनपाठनसँगै समुदायको आवश्यकता पुरा हुने शिक्षा उपलब्ध गराउनु पर्ने बताउनु भयो ।
उक्त भवन निर्माणका लागि लुम्विनी विल्डर्स प्रालिले ठेक्का पाएको छ । भवन निर्माणका लागि सामग्री ल्याउँदा लाग्ने भ्याट नेपाल सरकारले छुट गरेको काठमाडौं विश्वविद्यालयले जनाएको छ। यो भवन सन् २०२३ भित्रमा निर्माण सम्पन्न हुने छ ।
भवन करिब तीन हजार १ सय १७ बर्ग मिटरमा निर्माण हुने छ ।
यसैगरी, नेपाल टेक्नोलोजी इनोभेसन सेन्टर (एन.टी.आई.सी) संस्थाको आधिकारिक वेबसाइटको काठमाडौं विश्वबिद्यालयलका उपकुलपति डा. माकाजूले प्रारम्भ गर्नुभयो ।