असोज १,
२०७७,सिन्धुपाल्चोक/

नेपाल चीनबीचको उत्तरी सीमा तातोपानी सुख्खा बन्दखरगाह भन्सार कार्यालबाट चीनियाँ सामान आयात ठप्प भएको छ । उक्त भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीका अनुसार गएको असार २४ गते राती भोटेकोशी नदीमा भीषण बाढी र पहिरो आएपछि उक्त नाकाबाट कुनै पनि सामान आयात भएको छैन ।

दुई देशबीच ब्यापारिक कारोबान शून्य भएपछि नाका सुनसान भएको छ । प्रमुख खत्रीले लिपिङदेखि बाह्रबिसेसम्मको २९ किलोमिटर कोदारी राजमार्ग बाढी र पहिरोले कटान र खण्डहर बनाएपछि चीनियाँ पक्षले सामान नपठाएको जानकारी दिनुभयो । चीनियाँ क्षेत्र अन्तरगत न्यालम काउन्ट्री स्थित “ च्छो ” ताल फुटने संभावाना रहेको भन्दै चीनियाँ ब्यापारीले सो नाकाबाट कारोबार गरेका छैनन् ।

कोभिड १९ को महामारी शुरु हुनुअघि उक्त नाकाबाट मुलुकभरका हजारौं ब्यापारी ब्यापार गर्ने गर्दथे । अहिले ती ब्यापारीहरु मध्य कतिपय अन्यत्र नाकाबाट ब्यापार गर्छन भने कति बिस्थापित भएका छन् । सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका अध्यक्ष बेदबहादुर श्रेष्ठले कोरोना महामारी, बाढीपहिरोका कारण नाका बन्द भएपछि नाकासंग आबद्ध ब्यापारीब्यबसायी अति मारमा परेको बताउनुभयो ।

उहाँका अनुसार तातोपानी नाका बन्द भएपछि ब्यापारीहरु बैंकको ब्याज, साँवा, घरभाडा तिर्न नै समस्यामा परेका छन् । घरपरिवार चलाउन नै मुस्किलमा पर्न थालेका छन् । सो कारण तातोपानी नाका तत्काल संचालन गर्न तीनै तहका सरकारले तदारुकता देखाउनुपर्ने अधयक्ष श्रेष्ठले आग्रह गर्नुभएको छ । बाढीपहिरो पछि नेपाली ब्यापारीको सामान सहितका एक हजार बढी कन्टेनर चीनियाँ भूभागमा थन्किएका छन् । ती कन्टेनर नेपाल भित्राउन पनि सरकारले चासो दिनु पर्ने उहाँको अनुरोध छ । ब्यापारिक कारोबार नभएपछि नाकासंग आबद्ध ५ हजारभन्दा बढी मजदुरको रोजीरोटी गुमेको छ ।

साउनयता ४ करोड राजश्व संकलन

असार २४ गतेभित्र तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालय आइपुगेका सामान भने भन्सार कार्यालयले जाँचपास गरि राजधानी भित्राएको छ । भन्सार प्रमुख खत्रीले ती सामानबाट साउन र भदौ महिनामा ४ करोड ७९ लाख राजश्व संकलन भएको बताउनुभएको छ । साउन महिनामा ३ करोड ४८ लाख र भदौ महिनामा १ करोड ३१ लाख राजश्व संकलन भएको उहाँले जानकारी दिनुभयो ।

कोरोना भाइरस प्रतिरोधी स्वास्थ्यसामग्री, स्याउ, प्याज, लसुन, र मेटिरियल्स लगायतका सामानबाट उक्त राजश्व संकलन भएको हो । गएको बर्ष एक अर्ब ५९ करोड राजश्व संकलन भएको भन्सार कार्यालयले जनाएको छ । गोरखापत्रबाट

Facebook Comments