असोज १,
२०७७,काभ्रे/

बीपी तथा अरनिको राजमार्गमा सवारी साधनको चहल पहल बढ्दै गएको छ ।

कोभिड १९ भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत वर्षको चैत ११ मा लकडाउन गर्नु केहीदिन अघिबाटै बन्द भएका लामो दूरीका सार्वजनिक यातायात असोज १ गतेबाट चलाउन दिने सरकारको हालैको निर्णयसँगै महिनौंपछि राजमार्गमा सवारी साधनको चहलपहल बढेको हो । पूर्वी तराई तथा पहाडी जिल्लाबाट उपत्यका प्रवेश गर्ने साँगा नाकामा प्रहरी र सशस्त्र प्रहरीले चेकजाँचलाई निरन्तरता दिइरहेका छन । सरकारले तोकेको अनुसारको यात्रु तथा सवारी साधनका कर्मचारीहरुले मापदण्ड पूरा नगरेका सवारी साधनलाई कारवाही समेत गरिएको प्रहरीको भनाई छ ।

सार्वजनिक यातायातमा यात्रुले माक्स लगाए नलगाएको, सरकारले तोकेको मापदण्ड अनुसार यात्रु राखे नराखेको, चालक सहचालकले पन्जा र भाइजर लगाए नलगाएको, बसमा सेनिटाइजर भए नभएको प्रहरीले चेक गरिरहेको छ । सीमा प्रहरी चौकी साँगाका इन्चार्ज हरिशरण बस्नेतले नेपाल सरकारले तोकेको मापदण्ड अनुसार स्वास्थ्य सुरक्षा अपनाए नअपनाएको चेक भइरहेको बताउनुभयो । उहाँले उपत्यका प्रवेश गर्ने र फर्केने दुवै तीर चेक भइरहेको बताउनुभयो ।

यात्रु बढी बोकेका र सुरक्षा मापदण्ड नअपनाएकालाई कारवाही समेत गरिने बस्नेतले बताउनुभयो । साँगाबाट बीपी राजमार्ग, अरनिको राजमार्गबाट सयौको संख्यामा यातायातका साधन भित्रिने गरेका छन । सवारीसाधनले सिट क्षमताको आधा यात्रु राखेर साविक भाडादरमा ५० प्रतिशत बढी भाडा लिएर यात्रा गराउनुपर्नेछ । नेपाल टिभी अनलाईनबाट

Facebook Comments