यश कुमार परियार–असोज २,
२०७७,काभ्रे (पोखरीनारायणस्थान)/

जिल्लाको तेमाल गाउँपालिकाले पालिका भित्रका ४१ वटा विद्यालयहरु निर्मलिकरण गर्ने काम सुरु गरेको छ । आज पालिका अध्यक्ष सलाम सिं तामाङले पोखरीनारायण स्थानमा रहेको नारायण स्थान माविमा एक कार्यक्रमका बिच विद्यालय निर्मलिकरण गर्ने कामको सुरुवात गरेका हुन् । उनले विद्यालय निर्मलिकरण अर्थात डिस्ईन्फेक्ट गर्नु अगाडि पि.पि.ई. सेट लगाएका थिए ।

विश्वभर महामारीको रुपमा फैलिरहेको नोभेल कोरोना भाईरसको प्रकोपको कारण हाल विद्यालयहरु बन्द छन् । विद्यालयहरु बन्द भएदेखि विद्यार्थीहरुको सिकाईमा असर परिरहेको कुरालाई ध्यानमा राख्दै अब विस्तारै स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै विद्यालय खोल्न लागेको पालिका अध्यक्ष तामाङले बताए । ‘सम्भवत यो काभ्रेकै पहिलो पालिका होला, जस्ले विद्यालय खोल्न लागेको छ’ भन्दै तामाङले– ‘अब हामी यो निर्मलिकरणको काम सकाएपछि पालिकाका विद्यालय खोलेर नियमित शैक्षिक गतिबिधि संचालन गर्नेछौँ’ भने ।

गाउँपालिकाले यस अघिनै विद्यालयका शिक्षकहरुलाई यथासिघ्र विद्यालय उपस्थित हुन निर्देशन दिएको थियो ।

सोहि अवसरमा नारायण स्थान माध्यमिक विद्यालयलाई स्वास्थ्य सामग्री वितरण गरिएको थियो । विद्यायलका प्रधानाध्यापक यज्ञ प्रसाद दाहाललाई गाउँपालिका अध्यक्ष तामाङ, उपाध्यक्ष दुर्गामाया तामाङ, प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण कुँईकेलले संयुक्त रुपमा स्वास्थ्य सामग्री हस्ताण्तरण गरेका थिए । स्वास्थ्य सामग्रीमा मास्क, स्यानिटाईजर, साबुन रहेको छ ।

आज शुक्रबारबाट सुरु गरिएको यस कार्यक्रम तिन दिन भित्र सक्ने गाउँपालिकाका स्वास्थ्य संयोजक शिवहरी पाठकले जानकारी दिए । उनका अनुसार पालिका भित्र रहेका ४१ वटा विद्यालयहरुमा निर्मलिकरण गरिनुका साथै स्वास्थ्य सामग्री प्रदान गरिनेछ । जसमा १० वटा मावि र बाँकि रहेका ३१ वटा आधारभुत र प्राथमिक विद्यालयहरु छन् ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष सलाम सिं तामाङ, उपाध्यक्ष दुर्गामायाँ तामाङ, प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण कुँईकेल, स्वास्थय संयोजक शिव हरी पाठक, नारायण स्थान माध्यमिक विद्यालयका प्रधानाध्यापक यज्ञ प्रसाद दाहाल, शिक्षक, स्थानिय प्रहरी, पत्रकारहरुको उपस्थिति रहेको थियो ।

महिला स्वास्थ्य स्वायंसेविकालाई अभिमुखिकरणः

तेमाल गाउँपालिका भित्र रहेका महिला स्वास्थ्य स्वयंसेविकाहरुको लागि निरन्तर क्षमता अभिवृद्धि सामग्रीको बारेमा १ दिने अभिमुखिकरण गोष्ठ सम्पन्न भएको छ । केयर नेपालको आर्थिक सहयोगमा शान्ति जन आदर्श सेवा केन्द्र धुलिखेलको सहकार्यमा संचालित कार्यक्रममा पालिका भित्र रहेको स्वास्थ्य स्वयंसेविहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष सलाम सिं तामाङले यस विषम परिस्थितिमा स्वास्थ्यकर्मीहरुले खेल्नुभएको भुमिकाको प्रशंसा गरे । उनले स्वास्थ्य क्षेत्रमा विभिन्न समस्या भएको भन्दै समस्याहरुलाई समाधान गर्दै आगामि दिनमा उत्कृष्ट सेवा प्रदन गर्न शुभकामना दिए । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष तामाङ, उपाध्यक्ष दुर्गामायाँ तामाङ, प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण कुँईकेल, स्वास्थय संयोजक शिव हरी पाठक लगायतको उपस्थिति थियो ।

Facebook Comments Box