रोशी सहकर्मी–असोज ३,
२०७७,काभ्रे/

जिल्लाको रोशी गाउँपालिकाले ‘जसको मन उसलाई संरक्षण’ कार्यक्रमको अनुगमन गरेको छ । गाउँपालिकाले स्वदेशमानै कृषि, पशुपन्छि क्षेत्रमा काम गर्ने कृषकहरुलाई संरक्षण गर्ने उद्देश्य अनुरुप ‘जसको मन उसलाई संरक्षण’ कार्यक्रम मार्फत अनुदान दिने निती लिएको छ । यसै निति अनुसार पालिकाले तीन किसानलाई अनुदान सहित माछाका भुरा वितरण गरेको छ । बिहीबार गाउँपालिका अध्यक्ष डीबी लामा, प्रमुख प्रशासकीय अधिकृत डम्बरु दाहाल लगायतको टोली स्थलगत अनुगमनमा पुगेको थियो ।

प्रमुख प्रशासकीय अधिकृत दाहालले जसको मन उसैलाई संरक्षण अन्र्तगत माछापालनमा लागेका तीन किसानलाई माछाको भुरा र अनुदान वितरण गरिएको बताए । उनका अनुसार उत्साहित भई पोखरी खनेर देखाउने वडा नं ७ का भीम लामा, वडा नं ९ का कुमार लामा र वडा नं ११ का बलराम आलेमगरलाई अनुदान दिइएको छ । वडा नं ७ का भीम र वडा नं ९ का कुमारलाई भने २१/२१ हजार माछाको भुरा वितरण गरिएको छ ।

आकर्षक पोखरी निर्माण गरे बापत कुमार लामालाई रु ३ लाख ५० हजार अनुदान प्रदान गरिएको थियो । बलराम आले मगर र भीम लामालाई जनही २ लाख ५० हजार प्रदान गरिएको प्रमुख प्रशासकिय अधिकृत दाहालले जानकारी दिए ।

अनुगमनको क्रममा रोशी गाउँपालिका अध्यक्ष डि.वि. लामाले कृषि तथा पशुपालनको क्षेत्रमा नमुना काम गर्ने जुन सुकै कृषकलाई साथ र सम्मान गाउँपालिकाले गर्ने बताए । ‘यो क्षेत्र कृषि र पशुपालनको क्षेत्रमा अत्यन्त सम्भावना भएको क्षेत्र भएको हुनाले कृषकहरुलाई उत्प्रेरित गर्दै अगाडि बढिरहेका छौँ’ लामाले बताए । कृषकले नमुना योग्य, व्यवसायिक, उत्पादनमुखी र उपलब्धिमूलक कार्य गरेर देखाउने कृषकलाई अनुदान, पुरस्कार र सम्मान सहित कार्यक्रम गर्दे आएको बताए ।

यस बर्षको वार्षिक कार्यक्रममा जसको मन उसैलाई संरक्षण भन्ने मान्यतालाई आत्मसात गर्दै गाउँपालिका भित्र मौरी पालन गर्ने २ जना कृषकलाई ३ घार मौरी सहित पुरस्कृत गरिने, सबैभन्दा धेरै दूध उत्पादन गर्ने दुई कृषकलाई ३० हजार बराबरको बाछी किन्न अनुदान दिईने, सबैभन्दा धेरै बाख्रा पालन गर्ने दुई कृषकलाई रु ३० हजार बराबरको बाख्रा किन्न पुरस्कार दिइने उल्लेख गरिएको छ । यस आर्थिक बर्षका लागि कृषि तर्फ ४० लाख र पशुपालन तर्फ २५ लाख रकम पालिकाले विनियोजन गरेको छ ।

Facebook Comments