रोशी सहकर्मी–असोज १२,
२०७७,काभ्रे/

जिल्लाको रोशी गाउँपालिकाले गाउँ प्रहरी नियुक्ति गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ को उपदफा २ (१) ले दिएको अधिकार प्रयोग गरी रोशी गाउँपालिकाले गाउँ प्रहरी सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि, २०७७ बनाई आर्थिक वर्ष २०७७/०७८ को असार मसान्त सम्मको लागि करार सेवामा पालिकाले दुई जना गाउँ प्रहरी नियुक्ति गरेको हो । नियुक्ति हुनेमा गाउँ प्रहरी कमाण्डर पदमा रोशी ११ का सुरज बहादुर रायमाझी र गाउँ प्रहरी जवान पदमा रोशी ७ का हरिहर गौतम रहेको प्रशासन अधिकृत धनवीर लामाले जानकारी दिनुभयो ।

गाउँपालिकाको नीति, कानून, मापदण्ड तथा निर्णय कार्यान्वयन गर्ने, गाउँपालिकाको सम्पत्तिको सुरक्षा र संरक्षण गर्ने, स्थानीय स्तरमा हुने सभा समारोह, परम्परा तथा जात्रा चाडपर्वको सुरक्षा व्यवस्थापन, स्थानीय बजार तथा पार्किङ्ग स्थलको रेखदेख र व्यवस्थापन, न्यायिक समितिले गरेका मिलापत्र तथा निर्णय कार्यान्वयन गर्ने लगायतका अन्य जिम्मेवारी गाउँ प्रहरीको रहने रोशी गाउँपालिका अध्यक्ष डि.वि.लामाले जानकारी दिनुभयो ।

संविधानले स्थानीय तहलाइ प्रदान गरेको एकल अधिकार २२ मध्ये नगर/गाउँ प्रहरी पनि रहेको छ । संविधानको कार्यान्वयनका सन्दर्भमा यो अधिकार आजबाट रोशी गाउपालिकाले प्रतिस्पर्धात्मक रुपमा बिज्ञापन गरि नियुक्त गरेका २ जनशक्ति लाई ड्रेस चिन्ह सहित फिल्ड्मा खटाईएको प्रमुख प्रशासकिय अधिकृत डम्बरु दाहालले बताउनुभयो ।

३ दरबन्दी स्वीकृत गरेको गाउँपालिकाले कमान्डर र सह कमान्डर को लागि अनुभवी कर्मचारी मगेकोमा कमाण्डर नियुक्त भएका रायमाझी सेनाबाट अबकाश प्राप्त हुनुहुन्छ भने सहायकमा पदमा योग्य उम्मेदवारको आवेदन परेको छैन ।

Facebook Comments