रोशी सहकर्मी–असोज १६,
२०७७,काभ्रे/

काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं. ९ मैनाजाङमा सामुदायिक स्वास्थ्य इकाई भवनको निर्माण सम्पन्न भएको छ । नव निर्मित भवनको बुधबार गाउँपालिका अध्यक्ष सलाम सिं तामाङले एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष तामाङले भवन निर्माण सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै सहयोग गर्ने संघीय सरकारलाई धन्यवाद दिए । संघीय सरकारको शसर्त बजेट अन्तर्गत ३३ लाख २० हजार रुपैयाँ बजेटबाट बनेको ६ कोठे भवन बनेको जानकारी दिँदै उनले वडा अध्यक्षहरुसँग छलफल गरेर आवश्यकताको आधारमा कार्यन्वयन गरेको बताए । अध्यक्ष तामाङले आफुहरु निश्चित समयको लागि कुर्सीमा रहेको बताउँदै कुर्सीमा नहुँदा पनि निरन्तर जनताकै सेवामा लागि परिरहने बताए । कर्मचारीहरु सधैं बस्ने र आफुहरु कार्यकाल सकिएपछि बहिरिनुपर्ने भएकोले संस्थालाई जनमुखी बनाउन मिहिनेत गर्न कर्मचारीहरुलाई तामाङले अनुरोध समेत गरे

कार्यक्रममा तेमाल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुईंकेलले कार्यालय सञ्चालनको लागि संरचना आवश्यक भएकोले मैनाजाङमा भवन स्थापना भएको बताए । स्वास्थ्य क्षेत्र भनेको अति संवेदनशिल क्षेत्र भएका बताउँदै यस नव निर्मित स्वास्थ्य भवन सबैलाई पायक पर्ने र बीचमा पर्ने गरी निर्माण भएको बताए ।

कार्यक्रममा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख शिवहरि पाठकले लामो कसरत पछि पालिकामा सामुदायिक स्वास्थ्य ईकाई निर्माण गर्न सकेको बताए । उनले नव निर्मित भवन सामुदायिक स्वास्थ्य इकाई नभईकन स्वास्थ्य चौकीको रुपमा विकास गरीने बताए । पाठकले ‘वडा नं. ९ मा यस अघि कुनै स्वास्थ्य संस्था नभएकोले अब यसलाई नै स्वास्थ्य चौकीमा विकास गराउनेछौं’ भने ।

यस्तै वडा नं. ९ का वडा अध्यक्ष चन्द्रबहादुर लामाले गाउँपालिका र संघीय सरकारलाई धन्यवाद दिए । छोटो समयमा उत्कृष्ट काम गर्न सफल भएको बताउँदै उपभोक्ता समितिलाई धन्वयवाद दिँदै आगामि दिनमा भवनको सहि सदुपयोग हुनेमा आफु ढुक्क भएको बताए ।

भवन उद्घाटन कार्यक्रममा वडा सदस्यहरु टेकबहादुर थोकर, कान्छा लामा, सुन्तली विक, रस्मिता भण्डारी, प्राविधिक रामप्रसाद दाहाल, उपभोक्ता समितिका अध्यक्ष उत्तरसिं लामा साथै स्थानीयहरुको उपस्थिति रहेको थियो ।

Facebook Comments