रोशी सहकर्मी–असोज २१,
२०७७,काभ्रे/

पिन्थली–रजवास–चारकिल्ला–तीनखुट्टे–देवीटार गोकुले सडक खण्ड अन्र्तगत तीनखुट्टे–देवीटार सडक स्तरोन्नतिको लागि शिलान्यस भएको छ । बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुँयालले एक कार्यक्रमका बीच मंगलबार उक्त सडकको शिलान्यास गरेका हुन ।

बागमती प्रदेश सरकार भौतिक पूर्वधार विकास मन्त्रालयले उक्त सडक स्तरोन्नतिका लागि करिब ५० करोड रुपियाँ विनियोजन गरेको थियो । तीनखुट्ट– देवीटार सम्म ८.७ किलो मिटर निर्माण हुने उक्त सडकका लागि २५ करोड ८२ लाख १० हजार ३१६ रुपियाँमा ठेक्का सम्झौता भएको छ । गत असार ३० गते सम्झौता भएको उक्त सडक २०७९ असार ३० गतेसम्ममा सम्पन्न गर्नुपर्ने उल्लेख छ । श्रेष्ठ / साक्षम जेभीले उक्त सडकको ठेक्का पाएको छ ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य गंगाबहादुर दोङ, पूर्वराज्य मन्त्री सूर्यमान दोङ, संविधान सभा सदस्य रामहरी सुवेदी, जिल्ला समन्वय समिति प्रमुख उद्धव केसी, प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्वा, नेकपाका नेता इन्द्रबहादुर थिङ, महाभारत गाउँपालिका प्रवक्ता रविन मोक्तान, नेकपाका नेता राजकुमार कुँवर लगायतले मन्तव्य राखेका थिए । पिन्थली–रजवास–चारकिल्ला–तीनखुट्टे–देवीटार गोकुले नाम भएपनि बीचबाट सडक बनाउन सुरु गरेको भन्दै पिन्थली, रजवास लगायतका स्थानीयले बिरोध जनाएका छन । उनीहरुले सुरु प्वाइन्टबाट काम हुनुपर्ने माग गरेका छन ।

Facebook Comments