मंसिर ५,
२०७७,काभ्रे/

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हालै जारी गरेको विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा विद्यालय खोल्न मात्र नभई जोखिम बढेको ठाउँमा विद्यालय बन्द गर्न पनि जारी गरेको बताएको छ । रेडियो रोशीको रोशी संवादमा कुरा गर्दै शिक्षा सचिव गोपिनाथ मैनालीले उक्त कार्यढाँचा, कोभिडको कारण बन्द भएको बिद्यालय संचालन गर्न मात्रै नभई, संक्रमणको जोखिमलाई मध्यनजरी गरी सोहि अनुसार संचालन र बन्द गर्ने साथै शैक्षिक क्रियाकलापहरु संचालन गर्नका लागि जारी गरिएको बताए ।

उक्त कार्यढाँचाले कोभिड–१९ को जोखिम नभएका र कम हुँदै जाने स्थानीय तहका विद्यालयमा आलोपालो सिफ्ट वा उपयुक्त विधि अपनाई पठनपाठन सञ्चालनको बाटो खुलाएको छ । मन्त्रिपरिषद्को गत कात्तिक २२ गतेको निर्णयबाट स्वीकृत विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा, २०७७’ लाई मन्त्रालयले स्थानीय तहलाई जोखिमको मूल्यांकन गरी क्रमशः विद्यालय खोल्न मार्गदर्शन गरेकोे हो ।

‘यस अघि आकस्मिक रुपमा बैकल्पिक शिक्षा कार्ययोजना जारी गरिएको थियो’– मैनालीले भने, ‘गत कात्तिक २२ गतेको मन्त्रिपरिषद बैठकको निर्णय अनुसार जहाँ कोभिडको जोखिम छ, त्यहाँ स्थानिय सरकार, विद्यालय व्यवस्थापन समिति साथै सिडियोको संयोजकत्वमा रहेको कोभिड संकट व्यवस्थापन केन्द्रले समिक्षा गरेर कुनै ठाउँमा विद्यालय खोल्न वा बन्द गर्न मार्गदर्शन जारी गरिएको हो ।’ यस सिकाई ढाँचामा सुरक्षित कक्षा संचालन, सिकाई सहजिकरण साथै निरन्तर अनुगमन, विद्यालय संचालनको अबधिमा गर्नुपर्ने कामहरु, विद्यालय, अविभावकको, संघको, प्रदेशको सबै कुरा समेटिएको उनले बताए ।

देश भरी लकडाउनको शुरुवात सँगै कोरोना संक्रमणको कारण शिक्षा मन्त्रालयले देशभरका विद्यालयहरु बन्द गाराएको थियो तर केहि स्थानिय तहले भने संचालनमा ल्याईसकेका छन् । अब संक्रमणको जोखिम मूल्यांकन गरी विद्यालय बन्द गरिराख्ने कि खोल्ने भन्ने निर्णय स्थानीय सरकारले नै गर्न सक्ने छन् ।

विद्यालय सन्चालनको कार्यढाँचामा क्वारेन्टिन, आइसोलेसन केन्द्रका रूपमा रहेका विद्यालय पुनः सञ्चालनपूर्व निर्मलीकरणलगायत जनस्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्नुपर्ने उल्लेख छ । विद्यार्थी भर्ना, विद्यालय सञ्चालन एवं शिक्षण सिकाइ व्यवस्थापन तथा स्थगित परीक्षा सञ्चालनका सन्दर्भमा गर्नुपर्ने मूलभूत कार्यलाई व्यवस्थित बनाउन पनि आग्रह गरिएको मन्त्रालयका सचिव मैनालीले बताए ।

‘विद्यार्थीहरुको पढ्न पाउने अधिकार सुनिश्चित गर्न, शैक्षिक सिकाईको बिधिले पनि निरन्तरता पाओस्, जोखिमबाट पनि मुक्त हुन्, यि तिनै कुरालाई समावेश गरी यसलाई जारी गरिएको उनले बताए । विगतको कुराहरु भन्दा पनि अहिलेको वर्तमान सन्दर्भलाई राखेर यसको विकाश गर्न खोजेका उनको भनाई छ । मैनालीले भने–‘सुरक्षित रुपमा विद्यालय संचालन गर्नु भन्दा अगाडि केके गर्नु पर्छ, कस्तो कस्तो अवस्थामा शिक्षकले पढाउने हो, कस्तो कस्तो विधि अपनाउन सकिन्छ, बैकल्पिक बिधि प्रयोग गर्न सकिन्छ जस्तै विद्यालय बाहिर रेडियो शिक्षा, अनलाईन पठनपाठन वा अरुनै कुनै माध्यमबाट सिक्ने र सिकाउने कुरालाई निरन्तता दिनु पर्छ’ ।

शैक्षिक सत्रको अन्त्यमा विद्यालय सञ्चालनमा ल्याउन लागिएको छ, अबको शैक्षिक सत्र २०७७/०७८ को बैशाखमा नै सुरु हुन्छ त ? भन्ने प्रश्नमा मैनालीले भने ‘मन्त्रालयले निर्णय नगरी भन्न सक्ने अवस्था छैन, विद्यार्थीहरुको शैक्षिक सत्र बिनाश हुनु हुँदैन, एक वर्ष खेर जानु भनेको धेरै ठुलो हो, यस विषयमा मन्त्रालयका विज्ञहरु सँग छलफल गरिरहेका छौँ’ भने । गत असोज २२ को निर्णयका आधारमा सरकारले सबै तहका परीक्षा सञ्चालनको कार्य शुरु गरिसकेको छ । यही मंसिर ९ गतेदेखि कक्षा १२ को गत वर्षको परीक्षाको ४० नम्बर प्राप्तांकका लागि प्रत्यक्ष परीक्षा हुँदैछ । सो परीक्षामा विद्यार्थीलाई जहाँ रहेको छ त्यहीँको विद्यालय (होम सेन्टर) का रूपमा पनि परीक्षामा सामेल गराउने तयारी छ ।

Facebook Comments