मंसिर ७,
२०७७,काभ्रे/

पनौती नगरपालिका ११ बल्थलीमा रहेको लडकेश्वर मन्दिरमा लाग्ने मेला यस बर्ष स्थगीत गरिएको छ । हरिबोधनी एकादशीको अवसरमा प्रत्येक बर्ष हुने उक्त मेला कोरोनाका कारण स्थगन गरिएको हो ।
कोरोनाको सङक्रमण दर बढेको भन्दै पनौती नगरपालिका वडा न ११ ले मङसिर ११ गते हुने मेला स्थगीत गर्ने निर्णय गरेको हो । वडा अध्यक्ष तारामान लामाले एक लाख भन्दा बढी भक्तजन आउने र कोरोना सङक्रमण दर बढ्ने जोखिम बढेपछि मेला स्थगन गरिएको जानकारी दिनुभयो । वडाले सूचना मार्फत मेलामा सहभागिता नजाउन भक्तजनलाई आग्रह गरेको छ ।

रोसी नदीको किनारमा रहेको लड्केश्वर महादेबको मन्दिरमा हरेक साल हरिबोधनी एकादशीमा पूजा अर्चना सँगै वृहत मेला लाग्ने गरेको थियो । धार्मिक किम्बदन्ती अनुसार द्धापर युगमा भगवान शिब हरिबोधनी एकादशी र माघे संक्रान्तीका दिन यस स्थानमा बास बस्ने बिश्वासका साथ हरेक बर्ष पूजा अर्चना गरी मेला भर्ने गरिदै आइएको थियो । सामान्यतः शिब मन्दिरहरुमा सोमबार पुर्णिमामा मेला लाग्ने गरेता पनि बल्थलीमा रहेको लड्केश्वर महादेबको मन्दिरमा भने हरिबोधनी एकादशीका दिनमा मात्र ठूलो मेला लाग्ने गरेको स्थानीयहरुको भनाई छ । पर्यटकीय स्थलको सम्भवना भएता पनि प्रचारप्रसारको अभावमा ओझेलमा पदै आएको लड्केश्वरी मन्दिरमा पुगेर दर्शन गर्नाले चिताएको मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ ।

अघिल्लो बर्षको मेलामा विभिन्न राष्ट्रिय कलाकारहरुको समेत उपस्थितिमा कन्र्सट लगायत का कार्यक्रम हुँदै आएका थिए । जिल्लाको श्यामपाटी सिमलचौर, शंखु, नमोबुद्ध, भुग्देउ, पनौती, खोपासी, ढुर्खक, चलाल, बनेपा, धुलिखेल तथा छिमेकी जिल्ला भक्तपुर, सिन्धुली बाट दर्शनार्थीहरु ठूलो संख्यामा आउने गरेका थिए । बिशेषगरी बौद्ध धर्माबलम्बी मानिएका तामाङ समुदायले समेत यो दिनलाई धुमधामसँग मनाउने गरेका थिए । -गोरखापत्रबाट

Facebook Comments