यश कुमार परियार–मंसिर २४,
२०७७,काभ्रे/

काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं ४ महादेबटारमा रहेको जोगेश्वर माध्यमिक विद्यालयलाई नव निर्मित २२ कोठे भवन हस्ताण्तरण गरिएको छ । आज एक कार्यक्रमका बिच प्रमुख अतिथि प्रतिनिधि सभा सांसद गंगा बहादुर दोङ (बमध्वज) ले विद्यालयको उद्घाटन गरेसँगै डि.एल.पि.यु.का ईकाई प्रमुख देव कुमार बरालले बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष जमान सिं लामा र प्रधानाध्यापक अम्बिका प्रसाद दाहाललाई साँचो हस्ताण्तरण गरेका हुन् ।

२०७२ साल बैशाख १२ गतेको विनाशकारी भुकम्पबाट क्षतिग्रस्त भएको उक्त विद्यालय नेपाल सरकार र एसियाली विकास बैंकको आर्थिक सहयोगबाट राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, केन्द्रिय आयोजना कार्यन्वयन ईकाई (शिक्षा)को विपद् उत्थानशिल विद्यालय परियोजना मार्फत निर्माण सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सांसद गंगा बहादुर दोङले विद्यालय भवन बनेकोमा खुसी व्यक्त गरे । उनले विद्यालय भवन मात्रै ठुलो भएर नहुने बताउँदै विद्यार्थीहरुको उज्वल भविष्यको निमित्त गुणस्तरी शिक्षा प्रदान गर्नु पर्ने बताए । ‘भवनमात्रै ठोलो भएर गुणस्तरीय शिक्षा भएन भने कुनै अर्थ हुँदैन, त्यसैले गुणस्तरीय शिक्षा प्रदान हुनेमा आफू बिस्वस्त छु’ उनले भने ।
रोशिको कुनामा भएको यश पछाडी परेको स्थानको बिकास गर्न सबै एकजुट भएर लाग्न जरुरी रहेको बताउँदै काम गर्न धेरै बाँकी रहेको र आगामी दिनमा पर्याप्त बजेट बिनियोजन हुने बताए । ‘दुई तिहाई बहुमतको सरकार भनेर जिब्रोमा झुन्डिएको छ’ – दोङले भने ‘झन्डै ४० करोड बजेट बिनियोजन गर्दा पनि दुई तिहाईले केहि गरेन भनेर भन्न सुहाउँदैन ।’ बिकास निर्माण, उन्नती प्रगती मात्र दुई तिहाईले गर्ने बताउँदै कोहि जनता भ्रममा नपर्न आग्रह गरे ।

यस्तै प्रदेश सभा सदस्य चन्द्र लामाले बिकासको दृष्टिकोणमा पछि परेको स्थान महादेबटारमा सुबिधा सम्पन्न विद्यालय भवन बनेको प्रति खुसी व्यक्त गर्दै आगामि दिनमा बालबालिकाको शैक्षिक यात्रा सफल रहोस् भन्ने शुभकामना दिए । यस क्षेत्रमा आवश्यक पर्ने पर्याप्त बजेट पठाउन नसकेको स्विकार गर्दै उनले आफ्नो कार्यकालमा विभिन्न आयोजना भित्राउने प्रतिबद्धता ब्यक्त गरे ।

यस्तै रोशी गाउँपालिका वडा नं ४ का अध्यक्ष तेज बहादुर राणा मगरले विद्यालय विशुद्ध ज्ञान हाँसिल गर्ने थलो भएका कारण राजनिति गर्न नहुने बताए । विद्यालय निर्माणमा गाउँपालिकाले र वडाले सदैभ साथ दिँदै आएको बताउँदै उनले जनप्रतिनिधि भएपछि पार्टी हेर्न नहुने र वडाको विकासमा गाउँपालिकाले र वडाले कुनै पनि कञ्जुसाँई नगरेको बताए ।

विद्यालयको निमित्त नेपाल सरकारको १७.६० प्रतिशत, वैदेशिक ऋण ७४.९० प्रतिशत र वैदेशिक सहायता ७.५० प्रतिशत गरी जम्मा ६ करोड ४ लाख २८ हजार लागतमा निर्माण सम्पन्न भएको प्रधानाध्यापक अम्बिका प्रसाद दाहालले जानकारी दिए । यस नव निर्मित भवन बालमैत्री अपाङ्गमैत्री रहेको छ । २०१६ सालमा प्रा.वि., २०४९ मा निमावि हुँदै २०६५ बाट मावि भएको यस विद्यालयमा अब १२ कक्षा सम्म पठन पाठन गराउन पहल भईरहेको प्रधानाध्यापक दाहालले बताए । उनले विद्यालयलाई आवश्यक पर्ने भवन पर्याप्त भएपनि शिक्षकको दरबन्दी कम भएको गुनासो गरे । विद्यालय निर्माणको निमित्त स्थानिय राम सुन्दर श्रेष्ठले जग्गा दान गरेका थिए ।

सोहि कार्यक्रममा जोगेस्वर ग्रामिण बिकास समाजले विद्यालयलाई मास्क र स्यानिटाईजर प्रदान गरेको थियो । समाजका अध्यक्ष बिकास श्रेस्ठले १६ सय थान मास्क र ११ वटा स्यानिटाईजर विद्यालयलाई हस्ताण्तरण गरेका हुन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जमान सिं लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा डि.एल.पि.यु.का ईकाई प्रमुख देव कुमार बराल, युवा संघ नेपालका केन्द्रिय कोषाध्यक्ष अमित लामा, पुर्व विद्यायल व्यवस्थापन समितिका अध्यक्ष नरमान लामा, पुर्व गाविस सचिव पदक शंकर गौतम, विद्यालय व्यवस्थापन समितिका सदस्य भगवान तामाङ, शिक्षक अभिभावक संघका सदस्य जगतमान लामा लगायतले मन्तव्य राखेका थिए ।

Facebook Comments Box