पुस ३,
२०७७,काभ्रे/

नेपाली कांग्रेस काभ्रेले सरकारद्धारा गरिएको संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै बनेपा र भकुण्डेबेशीमा बिरोध प्रदर्शन गरेको छ । काँगे्रसले सोमबार प्रतिनिधिसभा क्षेत्र नं १ को भकुण्डेबेशी र प्रतिनिधिसभा क्षेत्र नं २ को बनेपामा बिरोध प्रदर्शन गरेको थियो । बिरोध प्रदर्शन पश्चात बनेपामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरे र भकुण्डेबेशीमा केन्द्रीय शिवप्रसाद हुमागाईले सम्बोधन गर्नुभएको थियो ।

नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्रीय समिति क्षेत्र नं १ ले भकुण्डेमा आयोजना गरेको विरोध र्यालीमा सयौँको संख्यामा कांग्रेस नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । नौबिसेबाट सुरु भएको विरोध र्याली भकुण्डेमा पुगेर कोणसभामा परिणत भएको थियो ।

बनेपाको बिरोध सभामा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य घिमिरेले कम्युनिष्ट पार्टीले नेपाली जनतालाई झुक्याएर मत लिएका कारण मुलुकमा पुनः अस्थिरता निम्तिएको बताए । उनले भने, ‘संविधान नेपाली कांग्रेसको नेतृत्वको सरकारले जारी ग¥यो । चुनाव पनि कांग्रेस कै नेतृत्वमा भयो तर चुनाव भने कम्युनिष्टले झुट बोलेर जिते । उनीहरुले मुलुकमा स्थायित्व, सुखी नेपाली समृद्ध नेपाल बनाउने, रेल ल्याउने, विकास निर्माणले गति लिन भनेर मत त मागे छ । त्यो सबै भोट माग्नका लागि मात्र थियो’ । उहाँले ‘नेकपा भित्र देखिएको घर झगडाले पुनः मुलुकलाई अस्थिरता तर्फ लैजान खोजिएको भन्दै नेपाली काँग्रेसको नेतृत्वमा बनेको संविधानको रक्षा र सरकारको अलोकतान्त्रिक चरित्रका कारण कांग्रेस बाध्य भएर जनताको साथका लागि सडकमा आउनुपरेको हो’ भन्नुभयो ।

बनेपाको गोदामचोकमा जम्मा भएका नेपाली कांग्रेसका कार्यकर्ताले चारदोबाटो, तीन दोबाटो हुँदै बनेपा पुरानो बजारलाई परिक्रममा गरी रेडक्रश चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

भकुण्डेमा भएको कार्यक्रममा संंबिधान सभा सदस्यद्वय तिर्थ लामा, हर्ष जित लामा, नमोबुद्ध नगर सभापति कुन्साङ लामा, प्रतिनिधि सभा क्षेत्र नं १ का सभापति राम योन्जन, सहसभापती रमेश हुमागाइ, युवा नेता गणेश लामा, सिबि लामा, संख बुद्ध लामा, ललिता किङरिङ, जिल्ला सचिव दिनेश लामा, सहसचिव इस्वरी ओझा लगायतले मन्तव्य राखेका थिए भने बनेपामा भएको कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति मधुप्रसाद आचार्य, प्रतिनिधि सभा क्षेत्र नं २ का सभापति कञ्चनचन्द्र बादे, उपसभापति मानवहादुर तामाङ, क्षेत्रिय सभापतिद्धय महेश खरेल र बिदुर घिमिरे, महिला संघ सभापति शुभलक्ष्मी मानन्धर, नेविसंघ जिल्ला अध्यक्ष नृपेश बादे लगायतले मन्तव्य राखेका थिए ।

Facebook Comments