पुस १७,
२०७७,काभ्रे/

काभ्रे जिल्लामा गएको ५ महिनामा ट्राफिक कारबाहिबाट १ करोड ११ लाख ७२ हजार राजश्व संकलन भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख बिशाल तामाङका अनुसार यस आर्थिक वर्ष २०७७/०७८ सुरु भएको ५ महिनाको अवधि साउन देखि मंसिर सम्ममा ट्राफिक नियम उल्लघंन गर्ने ९ हजार ८ सय सवारी चालकलाई कारवाही गरिएको छ । उक्त कारवाहिबाट १ करोड ११ लाख ७२ हजार राजश्व संकलन गरेको उनले बताए । जुन यस आर्थिक वर्षको हाल सम्मकै उच्च रकम संकलन भएको हो ।

सवारी दुर्घटना न्यूनिकरणका लागि ट्राफिक प्रहरीले चेकजाँचमा कडाई गरेसंगै कारवाहीमा पर्नेको संख्या बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेको तथ्यांक छ । ट्राफिक नियम उल्लंघन गर्नेको संख्यामा बृद्धि भएसँगै राजश्व संकलनमा पनि बृद्धि भएको कार्यालयले जनाएको छ ।

लकडाउन खुलेपछि सडकमा पनि सवारीको चाप बढ्दै गएको र चालकहरुले ट्राफिक नियमको पालना नगर्नाले पछिल्लो समय धेरै संख्यामा सवारी चालक कार्वाहीमा परेको प्रमुख तामाङले जानकारी दिए । उनका अनुसार कारवाहीमा पर्ने सवारीमध्ये अधिकांश ट्रिपर र ट्रकका चालकहरु रहेका छन् । मापसे गरेर सवारी चलाएका, सिटबेल्ट नलगाएका, ओभरलोड, छतमा यात्रु राखेका, प्रयोजन विपरित चलाएका, लेन अनुशासन मिचेका जस्ता कारणले गर्दा उनीहरुलाई कानुनी दायरामा ल्याईएको प्रमुख तामाङले बताए ।

Facebook Comments Box