यश कुमार परियार–पुस १८,
२०७७,भकुण्डेबेशी/

बीपी राजमार्ग अन्तर्गत काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका भित्र पर्ने भकुण्डे–दाहालडाँडा सडक खण्डमा पिच थपिएको छ । करिब १ वर्ष सम्म सडक स्तरोन्नति गर्न पुरानो पिच उक्काएर अलपत्र अवस्थामा छाडिएको उक्त सडक गत कार्तिक अन्तिममा कालोपत्रे गरिएको थियो । तर एक हप्ता पनि नबित्दै कालोपत्रे उप्किएपछि उक्त सडकको बारेमा रोशी खबरले समाचार प्रकाशित गरेको थियो ।

लकडाउन अघिनै सडक अलपत्र अवस्थामा छाडेको भएपनि निर्माण कम्पनीले लकडाउनको बाहाना बनाउँदै काम रोकेको थियो । लामो समयको अन्तराल पछि सडक कालोपत्रे हुन त सुरुभयो, तर सडक कालोपत्रे भएको एक हप्ता पनि नबित्दै ठाउँठाउँमा भत्किन थाल्यो । कम गुणस्तरीय निर्माण सामाग्रीको प्रयोगबाट ठाउँ ठाउँमा खाल्डा पर्ने क्रम नरोकिएपछि रेडियो रोशी र रोशी खबरले गुणस्तरीयताको आवाज निरन्तर उठाउँदै आयो । त्यही कारण निर्माण कम्पनी पुनः पिच थप्न बाध्य भएको हो ।

नाम नबताउने शर्तमा सडक आयोजना कै एक कर्मचारीले गुणस्तरीय काम नभएको स्वीकार्नुभयो । ‘लकडाउन अघि नै काम सकिने भएपनि काम भएन, सबै उपकरणहरु भाडामा ल्याईएको थियो तर केहि समय पछि लकडाउन भयो । पिच गर्न ल्याएको सबै मेसिन उपकरणको लकडाउन अबधि भरी कै भाडा तिर्नु पर्छ । लामो समयको भाडा तिर्दा बजेटले नभ्याएको हुन सक्छ ।’

गत वर्ष दशैँ अघि विभिन्न खण्डमा सुरु गरिएको यस आयोजना अन्तर्गत आर्थिक वर्ष २०७६/०७७ भित्र सम्पन्न गर्ने गरी धुलिखेल–नेपालथोक सडकको दाहालडाँडा देखि भकुण्डे सम्मको ६ किलोमिटर सडक स्तरोन्नति गर्न सुरु गरिएको थियो । जसका लागि वल्र्ड वाईड, पुष्पाञ्जली र पी.एस जेवी कम्पनीले ठेक्का पाएका थिए । अहिले सडक कालोपत्रे गर्ने काम सकिएको छ र भत्किएका सडकमा पिच हाल्ने काम भईरहेको छ ।

धुलिखेल–सिन्धुली–बर्दिवास सडक आयोजनाकी इन्जिनियर गिताञ्जली कोइरालाले भने सडकमा बढी सवारी साधान गुडेका कारण भत्किएको बताउनुहुन्छ । ‘पिच गरेको केही समय मै गाडि ओहोर दोहोर हुँदा आलो पिचमा त्यसको लोड पर्दा खाल्डो परेको हुन सक्छ । तर पनि हामीले निर्माण कम्पनीलाई पुनः पिच गर्न निर्देशन दिएका छौँ ।’

बनेपा–नेपालथोक–सिन्धुली–बर्दिबास सडक जापाना सरकारले निर्माण गरिदिएको हो । करिब १६० किलोमिटर उक्त सडक निर्माण भएसँगै उपत्यकाबाट पूर्वी जिल्ला तथा तराईका जिल्लाबाट आवातजावतमा सहज भएको छ । उक्त सडकको मर्मत सम्भारको जिम्मा अहिले सडक विभागले लिएको छ ।

Facebook Comments Box