यश कुमार परियार–पुस २४,
२०७७,काभ्रे/

काभ्रे जिल्लाका पाँच वटा पालिका कोरोना संक्रमित मुक्त भएका छन् । गत बर्षको डिसेम्बरबाट चिनको वुहानबाटछ सुरु भएको नोभेल कोरोना भाईरसको संक्रमित पछिल्ला दिनमा देश भर नै कम हुँदै गईरहेको पाईन्छ । काभ्रे जिल्लाको तेह्र स्थानिय तह मध्ये पाँच पालिकामा भने कोरोनाका संक्रमित शुन्यको संख्यामा छन् ।

जिल्लाको रोशी गाउँपालिका, तेमाल गाउँपालिका, महाभारत गाउँपालिका, खानीखोला गाउँपालिका र चौँरीदेउराली गाउँपालिकामा कोरोनाका संक्रमित नरहेको स्वास्थ्य कार्यलय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा.नरेन्द्र कुमार झाले जानकारी दिए ।

उनका अनुसार काभ्रेमा पछिल्ला दिनहरुमा कोरोनाका संक्रमित भेटिने क्रम न्युन छ । आज शुक्रबार पनि काभ्रेमा १ जनामा मात्रै कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । उनि बनेपा नगरपालिकाका महिला हुन् ।

पछिल्ला दिनहरुमा कोरोना जितेर घर फर्कनेको संख्यामा भने बृद्धि हुँदा जिल्लामा हाल ५५ जना सक्रिय संक्रमित मात्रै छन् । आज पनि जिल्लाका ९ जनाले कोरोना जितेर घर फर्किएको स्वास्थ्य कार्यलय काभ्रेले जारी गरेको विवरणमा उल्लेख छ ।

काभ्रेमा हाल सम्म ३ हजार २ सय ८२ जनालाई कोरोना पुष्टि भएको छ । उनिहरु मध्ये ३ हजार १ सय ८३ जनाले कोरोना जितेका छन् भने ४४ जनाको मृत्यु भईसकेको छ ।

Facebook Comments Box