यश कुमार परियार–पुस २७,
२०७७,काभ्रे/

क्षयरोग सम्बन्धि उपचार पद्धती परिमार्जन भएपछि काभ्रेका ६ स्थानिय तहका स्वास्थ्यकर्मीहरुलाई आजबाट तालिम दिईएको छ । सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय बाग्मती प्रदेश स्वास्थ्य कार्यलय काभ्रेको आयोजनामा सुरु भएको तालिम आज सोमबार बाट ३ दिन चल्ने छ ।

तालिमको शुभारम्भ गर्दै स्वास्थ्य कार्यलय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्र कुमार झाले क्षयरोग सम्बन्धि उपचार विधि परिमार्जन भएकोले स्वास्थ्यकर्मीहरुलाई तालिम दिईएको बताए । उनले अझैपनि काभ्रेमा स्वास्थ्यकर्मीहरुको दरबन्दिमा पदपुर्ति नभएकाले कार्यसम्पादनमा समस्या आएको बताए । डा. झाले भने,‘ गाउँपालिकाहरु महाभारत, खानीखोला, तेमाल, रोशी, भुम्लु, चौँरी देउराली, बेथानचोकमा स्वास्थ्य कर्मचारीको दरबन्दी खाली रहेको छ, नगरपालिकाहरु धुलिखेल, बनेपा, पनौतीमा दरबन्दी बढि भएको अवस्था छ ।’ ‘स्वास्थ्य कर्मचारी नभएको अवस्थामा पालिकाहरुले करारमा कर्मचारी राखेको र तालिम नभएका कारण कार्यसम्पादनमा कठिनाई आएकोले यो तालिम राखिएको हो’ उनले भने ।

क्षयरोग सम्बन्धि उपचार प्रोटोकल परिमार्जन भएको र पुराना साथै नयाँ स्वास्थ्यकर्मीहरुलाई यसको बारेमा थाहा नभएकाले उनिहरुलाई तालिम दिईएको उनको भनाई छ । बजेट अभावका कारण सबै स्वास्थ्यकर्मीलाई तालिम दिन नसकेको बताउँदै उनले यस आधारभुत तालिमले आगामि दिनमा क्षयरोग निवारणको निमित्त थप उर्जा प्राप्त गर्ने अपेक्षा लिएको बताए । डा.झाका अनुसार क्षयरोग भएका विरामीहरुको खकार संकलन र भण्डारण गर्न नेपाल सरकार राष्ट्रिय क्षयरोग केन्द्रले जिल्लामा ८४ वटा फ्रिज पठाएको र जिल्लाका सबै स्वास्थ्य संस्थामा वितरण गरिसकिएको छ ।

काभ्रको भकुण्डेबेशीमा आजबाट सुरु भएको आधारभुत तालिममा नमोबुद्ध नगरपालिका, रोशी गाउँपालिका, तेमाल गाउँपालिका, महाभारत गाउँपालिका, खानीखोला गाउँपालिका र बेथानचोक गाउँपालिकाका २१ जना स्वास्थ्यकर्मीको सहभागीत रहेको जिल्ला क्षयरोग कुष्ठरोग अधिकृत विष्णु प्रसाद जैसीले जानकारी दिए । उनका अनुसार काभ्रेमा १ सय १८ क्षयरोगका र ३ जना कुष्ठ रोगका सक्रिय विरामी रहेका छन् । उनिहरुको निरन्तर स्वास्थ्यकर्मीहरुले फलोअप गरीरहेको उनले जानकारी दिए ।

कार्यक्रममा नमोबुद्धका प्रशासकिय अधिकृत विनोद रसाईली, स्वास्थ्य शाखा संयोजक टिका निधि कोईराला, मेथिनकोट अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा. राम शरण श्रेष्ठको उपस्थिती रहेको थियो ।

Facebook Comments Box